२०८३ बैशाख ४ गते , शुक्रबार

दमक गोल्डकप  : आयोजकलाई हराउँदै सर्लाही क्वाटरफाइनलमा

sajilo news
झापा
२०७८ चैत्र ९ गते , बुधबार
दमक गोल्डकप  : आयोजकलाई हराउँदै सर्लाही क्वाटरफाइनलमा

घरेलु टोली दमक ११ लाई हराउँदै बागमती यूथ क्लब सर्लाही दमक गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ ।  दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा बुधवार भएको उद्घाटन खेलमा सर्लाहीले दमकलाई १–० गोल अन्तरले हराउँदै गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

सर्लाहीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । उनको गोल नै निर्णायक बन्यो ।  

दमकका जोमाउलले डिबक्सभित्र फल गरेपछि सर्लाहीले पेनाल्टी पाए । पेनाल्टीको सदुपयोग गर्दै सर्लाहीले विजयी सुरुवात गरेको हो । घरेलु दर्शकको साथ पाएका दमकका खेलाडीले मैदानमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पटक पटक गोल गर्ने अवसर गुमाउँदा दमक पहिलो चरणबाटै बाहिरियो । 

उद्घाटन खेलको म्यान अफ द म्याच विजयी टोली सर्लाहीका गोल रक्षक मनोज प्रधान घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । बिहीबारको खेल दुर्गापुर सन्डे कोलाकाता र गोर्खा ब्याइज रुपन्देहीबिच हुनेछ ।  चैत १८ गतेसम्म चल्ने दमक गोल्डकपमा चार विदेशी टोलीसहित १० टोलीले सहभागिता जनाएको छ ।  

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने  खेल संयोजक मोहन मगरले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिए । प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरेका थिए । 

 

सम्बन्धित समाचार