दमक गोल्डकपमा राजनीतिकरण भएको भन्दै काँग्रेस निकटका सदस्यहरू बाहिरिए
दमकमा जारी दमक गोल्डकपका सञ्चार तथा आर्थिक उपसमितिका संयोजकहरूले जिम्मेवारीबाट अल्गिएको घोषणा गरेका छन् ।गोल्डकप आयोजकले प्रतियोगितामा एकपक्षीय गतिविधि गरेको भन्दै नेपाली काँग्रेस निकट दुई संयोजकसहित विभिन्न जिम्मेवारी पाएका तीन जनाले सामूहिक रुपमा अल्गिएको घोषणा गरेका हुन् ।
सञ्चार उपसमितिका संयोजक बबरजंग थापा, आर्थिक उपसमितिका संयोजक चन्द्र खत्री , खेलकुद विकास समितिकी सदस्य दिलु सुब्बा (राई) लगायतले आफ्नो जिम्मेवारीबाट अल्गिएको घोषणा गरेका हुन् । उनीहरूले काँग्रेस नगर सभापति प्रकाश प्रसाईँलाई जानकारी पत्र पठाएर गोल्डकपमा पाएको आ–आफ्नो जिम्मेवारीबाट चैत १२ गतेदेखि अलग भएको उल्लेख गरेका छन् ।
कांग्रेसले तीन दिनअघि गोल्डकप आयोजना गर्ने समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउदैं त्यसलाई असहयोग पु¥याउने उद्घोष गरेको थियो । काँग्रेस केन्द्रीय सदस्य तथा सङ्घीय सांसद महेन्द्रकुमारी लिम्बूसहितका नेताहरूले गोल्डकपलाई राजनीतिकरण गरिएको भन्दै त्यहाँ बसेका पार्टी निकट सबै जिम्मेवार व्यक्तिहरूलाई अल्टिमेटम दिँदै जिम्मेवारीबाट राजीनामा दिन निर्देशन दिएका थिए । त्यसै निर्देशनअनुसार गोल्डकपको समितिमा बसेका काँग्रेस निकट व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेको काँग्रेस नगर सचिव दीपेश दाहालले बताएका छन् ।