२०८३ बैशाख ५ गते , शनिबार

वैशाख ६ गतेदेखि कृषिगणना, झापामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाइँदै

sajilo news
झापा
२०७८ चैत्र १४ गते , सोमबार
वैशाख ६ गतेदेखि कृषिगणना, झापामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाइँदै

झापाका १५ वटै पालिकामा कृषिगणनाको लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको छ ।  कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ  राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषिगणना गर्न लागेको हो । सोही अनुसार कृषिगणनाका लागि झापामा चैत १ गते जिल्ला कृषिगणना कार्यालयको स्थापना गरिएको थियो । 
कृषिगणना कार्यालयले सोमबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजना गरेको कृषिगणना सचेतना सम्बन्धी गोष्ठीमा कृषिगणना अधिकृत चूडामणि लुइँटेलले जिल्लामा ३३ जना सुपरिवेक्षक र १३३ जना गणक खटाउन लागेको बताए ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा ९ हजार ४ सय कृषि परिवार रहेको छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडामा ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउने लागिएको उनले बताए । 
करारमा नियुक्ति भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि बैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलो पठाइनेछ । कृषि मन्त्रालयले आगामी १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भन्ने उद्देश्यले पनि गणना गर्न लागेको उनको भनाई छ । 
कृषक परिवार भन्नाले तराईका जिल्लामा कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको हुनुपर्ने, जुनसुकै उमेरका कम्तीमा एक वटा गाईभैसीं जस्ता ठुला चौपाया पालेको हुनुपर्ने, कम्तीमा ५ वटा भेडा बाख्रा जस्ता साना चौपाया पालेको हुनुपर्ने, माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी कुखुरा वा हास हुनुपर्नेको तथ्यांक संकलन गरिने छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्धय रुद्रप्रसाद न्यौपाने, चोमेन्द्र न्यौपाने, कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टसहित पत्रकार, कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कर्मचारी राजन न्यौपानेले गरेका थिए । 
  

सम्बन्धित समाचार