प्रतिभा फुटबल क्लब मिल्स गोल्डकपको फाइनलमा
गोल बजारको प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा दमक एकेडेमी झापालाई ६ –१ गोलको फराकिलो अन्तरले हराउँदै गोल बजार फाइनलमा पुगेको हो ।
जितको लागि गोल बजारका कुलदेव काकी, अलमान, सञ्जीव कार्कीले गोल गरे । गोल बजारका विदेशी खेलाडी अलमानले एक्लै तीन गोल गरेका थिए । जितसँगै गोल बजारले शुक्रबार हुने फाइनल खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरसँगै प्रतिस्पर्धा गर्नेछ ।पहिलो हाफदेखि दबाबमा राखेको गोल बजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरी अग्रता लिएको थियो । खेल सुरु भएको तीन मिनेटमा गोल बजारले फल पाएपछि कुलदेव कार्कीले प्रहार गरेको फ्री किक गोलमा परिणत भयो । गोल बजारले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै ७ औं मिनेटमा बिनु आलेले निकालिएको बल विदेशी खेलाडी अलमानले हेड गरेको बलले जाली चुम्यो ।
पहिलो हाफमा दुई गोल भएपछि दबाबमा परेको झापाले खेलको १३ औं मिनेटमा राजन धिमालले गोल फर्काए । पहिलो हाफको थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आत्मघाती गोल भएपछि गोल बजारले ३–१ गोलले अग्रता लियो । गोल बजारका सन्जित कार्कीले दायाँ कर्नरबाट गरेको प्रहार झापाका डिफेन्डर ओमप्रकाश तामाङले बल रोक्न खोज्दा गोलमा परिणत भयो ।
दोस्रो हाफदेखि एकपक्षीय खेल पस्किएको गोल बजारले खेलको ५० औं मिनेटमा सुजित कार्कीले कर्नरबाट निकालिएको पास विदेशी खेलाडी अलमानले गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा नरेश राईले कर्नर साइटबाट निकालिदिएको क्रस पासलाई सञ्जीव कार्की गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा गोल बजारका अलमानले गोल गरी टिमको जित सुनिचित गरेका थिए ।
खेलको ७० औं मिनेटमा गोल बजारका संजिक कार्की कडा प्रहार बाहिरियो । ७७ मिनेटमा झापाका राजन धिमालले प्रहार पोसमाथिबाट बाहिरायो । खेलको म्यान अफ द म्याच गोल बजारका तीन गोल गर्ने विदेशी खेलाडी अलमान घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।