२०८३ बैशाख ३ गते , विहीबार

कचनकवलमा राप्रपाको सभा : गाउँपालिकाको बेरुजु रकम बारे किन बोलेनन् ज्ञानेन्द्र शाही ? असन्तुष्ट जनाउँदै संयोजकले दिए पदबाट राजीनामा

sajilo news
पार्थ मण्डल
२०७८ चैत्र २० गते , आईतबार
कचनकवलमा राप्रपाको सभा : गाउँपालिकाको बेरुजु रकम बारे किन बोलेनन् ज्ञानेन्द्र शाही ? असन्तुष्ट जनाउँदै संयोजकले दिए पदबाट राजीनामा

झापा । भ्रष्टाचारविरुद्ध जागरूक ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका झापा जिल्ला संयोजक तथा राप्रपाका कार्यकर्ता सोम चम्लागाईले पदबाट राजीनामा दिएका छन् । 
‘हाम्रो नेपाल, हामी नेपाली’ का अभियन्ता तथा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले झापाको कचनकवलमा आइतबार आयोजित राप्रपाको आम सभामा कचनकवल गाउँपालिकाको भ्रष्टाचार, बेथिति, विकृति र बेरुजुविरुद्ध कुनै आवाज नउठाएपछि उनीप्रति असन्तुष्ट जनाउँदै झापा संयोजक चम्लागाईले विज्ञप्ति निकाल्दै पदबाट राजीनामा दिएका हुन् ।  

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कचनकवलको कुल लेखा परीक्षण १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको ६ दशमलव ०६ प्रतिशत रकम अर्थात् ७ करोड २३ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको थियो । 
गाउँपालिकाको बेरुजु रकम जिल्लाका १५ वटै पालिकामध्ये सबै भन्दा बढी हो । भ्रष्टाचारविरुद्ध आवाज उठाउने ‘हाम्रो नेपाल, हामी नेपाली’का अभियन्ता तथा संयोजक शाही राप्रपासँग एकता गरी पाटीका प्रवक्ता भएका छन् । 

पार्टीको आमसभामा बोल्दै प्रवक्ता शाहीले कचनकवल गाउँपालिकाको भ्रष्ट्राचार, बेथिति र बेरुजु रकमको बारेमा एक शब्द पनि नबोलेकोले ‘हाम्रो नेपाल, हामी नेपाली’ र राप्रपाबाट आजैकै मितिबाट राजीनामा दिएको चम्लागाईले बताए । राप्रपाको कचनकवलमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत रहेकोले अभियन्ता शाहीले त्यसतर्फ केन्द्रित भएर केही बोल्नुभएन, चम्लागाईले भने, ‘जहाँ राप्रपाको आमसभा हुन्थ्यो, उहाँले त्यही पालिकालाई लक्षित गरी भ्रष्ट्राचार, विकृति, बेथिति र बेरुजुको विषयमा खुलेर बोल्नु हुन्थ्यो र बोल्दै पनि आउनु भएको छ ।’

तर, उहाँले जिल्लाकै सबै भन्दा बढी बेरुजु रकम देखिएको कचनकवल गाउँपालिकाको भ्रष्टाचार र विकृतिको बारेमा केही बोल्ने आँट नै गर्नुभएन । ‘म बसोबास गर्ने गाउँपालिकाकै गतिविधिको बारेमा ढाकछोप लाग्नु भएका उहाँ पद पाएपछि सबै भुल्नु भयो, त्यसैले उहाँको अभियानमा लाग्ने मैले कुनै औचित्य देखिन,’ उनले भने ।‘हाम्रो नेपाल, हामी नेपाली’अभियानमा कचनकवल मात्र १२९ जना आबद्ध छन् । अब अन्य सदस्यहरूले पनि क्रमशः अभियान र पाटीबाट राजीनामा दिँदै जाने उनले बताए । 

यस्तो छ संयोजक चम्लागाईको राजीनामा पत्र    

विगत लामो समयदेखि भ्रष्टाचार र विकृतिविरुद्ध सशक्त आवाज बुलन्द गर्दै जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्दै जनतालाई भ्रष्ट्राचारविरुद्ध महाअभियानको नेतृत्वदायी अभियानले जनतालाई सुशासनको प्रत्याभूति गराउँदै आइरहेको अभियानलाई झापा मात्रै नभएर देशकै अग्रणी स्थानको रुपमा चिनाउन सफल कचनकवल गाउँपालिकाको स्थायी बासिन्दा र नेतृत्वको हैसियतले यहाँ भएको भ्रष्ट्राचार र विकृतिलाई ढाकछोप गरी सत्य तथ्य लुकाउने अभियानका उच्च नेतृत्वको गद्दारीलाई समर्थन गरी राप्रपासँगको एकतामा बस्न नसक्ने भएकोले मेरा पाइला र हातहरू गद्दारीको पक्षमा कहिले समर्थन नरहने जानकारी यसै राजीनामा पत्र मार्फत गराउँदै आजका मितिबाट स्वतन्त्र नागरिकको रुपमा रहेको जानकारी गराउन चाहन्छु ।       
 

सम्बन्धित समाचार