यस्तो थियो हिमाल सुरक्षा परिषद्को जालो, बम आतंक मच्चाउने योजना जेलभित्रै
२०७६ वैशाख २८ गते झापाको कनकाई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी विष्फोटक पदार्थ प्रेसर कुकर बम राखेर आतंक मच्चाउने खगेन्द्र खरेल, लागू औषध कारोवार मुद्दामा पक्राउ परेका गौरादह–२ का ३८ वर्षीय सुमन कार्की र वैदेशिक रोजगारी ठगी मुद्दामा पक्राउ परेका शिवसताक्षी–१का ३२ वर्षीय शरण लिम्बू भनिने दीलकुमार सामेखामको चिनजान जिल्ला कारागार झापामा हुन्छ । विभिन्न आपराधिक मुद्दामा उनीहरु जेल पुगेका हुन्छन् । जेलभित्र एक आपसी हितैसी सम्वन्ध उनीहरुबीच स्थापित हुन्छ ।
सोही क्रममा सुमन, खगेन्द्र र शरण क्रमशः जेलवाट रिहा हुन्छन् । जेलबाट छुटे लगत्तै खगेन्द्रले विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपहरुको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसीसी खारेज लगायतका नाराहरुलाई प्रश्रय दिँदै प्रचारप्रसार शुरु गर्छन् । खगेन्द्रले क्रमशः उक्त मुद्दामा सहमत हुनेहरुलाई साथी बनाउँदै नयाँ पार्टी निर्माण गर्ने अभियानलाई अघि बढाउँछन् ।
सोही क्रममा उनले हिमाल सुरक्षा परिषद् नामक पार्टी नामकरण गरेर विस्तारित रुपमा आफ्ना योजनाहरु अगाडि बढाउन थाल्छन् । उनका मुद्दामा सहमत हुनेहरुलाई उनले अब सशस्त्र आन्दोलन गर्न उक्साउने गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
उनकै योजना अनुसार राष्ट्रिय स्वाधीनताको लडाइँमा सीएफएन् कफन स्थापना गरेर राजतन्त्रका गतिविधिलाई प्रश्रय दिन शुरु गर्छन् । खरेलले हिमाल सुरक्षा परिषद्को पर्चा, कफन लेखिएको अर्धकट्टीमार्फत रकम संकलनलाई पनि तीव्रता दिन्छन् ।
खरेलकै योजना अनुसार पहिलोपटक २०७८ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस स्ट्याण्ड र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसरकुकर वम राखेर आतङ्क श्रृजना गर्छन् । पहिलोपकट देखिएको भूमिगत संगठनप्रति प्रहरी समेत रनभुल्लमा परेको प्रहरी अधिकृत नै बताउँछन् ।
अनुसन्धानका क्रममा सो घटनामा यसअघि आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको हात रहेको आशंकामा प्रहरीले जिल्ला कारागार झापाबाट पछिल्लो समयमा छुटेका व्यक्तिको विवरण संकलन गर्दै उनीहरुको गतिविधिलाई निगरानी गर्न शुरु गर्छ । सोही क्रममा प्रहरीले खरेलको गतिविधिलाई निगरानीमा राखेर अनुसन्धान शुरु गर्छ । सोही क्रममा खरेलको सम्पर्क शरण लिम्बूसँग वारम्वार रुपमा देखिएपछि प्रहरीले दमकस्थित लिम्बू वसेको घरमा छापा मार्दा सो स्थानबाट प्रहरीले २३ ग्राम लागू औषध वरामद गरे पनि लिम्बू फरार हुन्छन् ।
उनी भारतको पञ्जाबमा गएर वेटरको काम गर्न शुरु गर्छन् । तर, सामाजिक सञ्जालमार्फत खरेलसंग उनको दिनहुँजसो सम्पर्क हुन्छ । प्रहरीले खरेलको खोजी तीव्र पारेसँगै उनी पनि भारतको नक्सलवाडी गएर बसेको प्रहरीको अनुसन्धानबाट खुल्छ । लिम्बू र खरेलले नेपालमा गतिविधि बढाउन कार्कीको सहायतामा योजनाहरु सञ्चालन गरिरहेका हुन्छन् ।
सोही क्रममा उनीहरुले बिर्तामोड र दमकमा वम राखेपछि सो कार्यमा संलग्नहरु पक्राउ गर्न झापा प्रहरी सफल भए पनि मुख्य योजनाकारका रुपमा रहेका खरेललाई भने प्रहरी पक्राउ गर्न असफल हुन्छ । प्रहरीले गौरादहका ३८ वर्षीय सुमन कार्की, कनकाई ३ का ४१ वर्षीय भीष्म थापा, दमक–९का ५० वर्षीय देवी बाँस्कोटा गुरागाँई, कनकाई–३का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी–१ का शरण लिम्बू, संखुवासभा खाँदवारी–१०का २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज–३का आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३का ४५ वर्षीय बिजयकुमार हलुवाईलाई पक्राउ गर्छ ।
प्रहरीले मुख्य योजनाकारका रुपमा रहेका खरेललाई माघ १० गतेबाट तीव्र रुपमा खोजी गर्न शुरु गर्छ । खरेलले गौरीगञ्जदेखि भारतमा रहेको कल्याणगञ्जलाई मुख्य थलोको रुपमा उपयोग गर्दै नेपालमा आतङ्क सृजना गर्ने गतिविधिलाई तीव्रता दिएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाउँछ ।
उक्त विषयको जानकारी खरेलले विभिन्न व्यक्तिहरुबाट पाएसँगै उनले आफ्नो स्थानलाई परीवर्तन गर्दै नक्सलवाडीलाई रोजे । सोही क्रममा खरेलले लम्जुङ्को ढोडेनी गाउँपालिका–७का २३ वर्षीय शेरजंग गुरुङलाई एक स्थानमा बम राखेवापत एक लाख ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनले भारतको नक्सलवाडी बोलाउँछन् । हिमाल सुरक्षा परिषद्का पर्चा र विवरण साथै बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित गुरुङलाई जोगमनी नाका हुँदै नेपाल पठाउन सफल हुन्छन् । गुरुङ भारतबाट इटहरी–२की ३२ वर्षीय आशा ठकुरी भनिने लक्ष्मीदेवी थापा ठकुरी र उनका छोरा २० वर्षीय रवीन थापाको सम्पर्कमा पुग्छन् । गुरुङ उनीहरुकै घरमा बसेर झापा, मोरङ र सुनसरीका शहरहरुमा आतंक सृजना गर्ने योजनामा रहेका हुन्छन् ।
खरेलकै योजनामा गुरुङले इटहरीस्थित अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने र सोही ठाउँबाट बम विष्फोट गराउने योजना अनुसार शेरजंग विष्फोटक पदार्थ बनाउँदाबनाउँदै अचानक विष्फोट हुँदा घाइते हुन्छन् । लगत्तै प्रहरीले सो घरमा छापा मार्दा हिमाल सुरक्षा परिषद्का गतिविधि फेला पारेसँगै सो घटनामा संलग्न आशा भनिने लक्ष्मीदेवी थापा ठकुरी, रवीन थापा र शेरजंग गुरुङ पक्राउ पर्छन् । प्रहरीले आशाको मोवाइल फोन प्रयोग गरेर खरेललाई नेपाल भित्र्याउने योजना बुन्छ । तर, उनले विभिन्न स्थानमा सूचना दिन मानिसलाई प्रयोग गरेका कारण प्रहरीले चार पटकसम्म भारतको नक्सलवाडी पुगेर पनि उनलाई पक्राउ गर्न सक्दैन ।
प्रहरीले नक्सलवाडीमै उनको गतिविधिलाई निगरानी बढाएपछि अन्ततः उनी प्रहरीको फन्दामा पर्छन् । झापा, मोरङ, सुनसरी, तथा प्रदेशका अनुसन्धानमा सक्रिय प्रहरीको साझेदारीमा खरेललाई पक्राउ गरी नेपाल ल्याउन सफल हुन्छन् ।
प्रहरीले मुख्य योजनाकार खरेललाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । उनले हालसम्म आफू नै मुख्य योजनाकार भएको स्वीकार नगरेपनि उनको गतिविधि र प्रहरीको लामो अनुसन्धान पश्चात उनी नै मुख्य योजनाकार रहेको प्रहरी श्रोतले जनाएको छ ।