२०८३ बैशाख ४ गते , शुक्रबार

कचनकवल वडास्तरीय नकआउट फुटबल : उपाधि जितेको रकम घाइते खेलाडीको उपचारमा

sajilo news
झापा
२०७८ चैत्र २६ गते , शनिबार
कचनकवल वडास्तरीय नकआउट फुटबल : उपाधि जितेको रकम घाइते खेलाडीको उपचारमा

कचनकवल गाउँपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बनियानी फुटबल क्लबले जितेको छ। कचनकवल ६ स्थित खेल मैदानमा शनिवार भएको फाइनल खेलमा  बनियानीले बगान फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेसँगै बनियानीले नगद २० हजार रुपैयाँ र ट्रफी पाएको छ । सो उपाधि रकम बनियानी क्लबका कप्तान राकेश शाहले टिमका पूर्व खेलाडी नितेश बेश्राको उपचारका लागि हस्तान्तरण गरिदिएका छन् । 

खेलको पहिलो हाफमा आयुश अधिकारीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि बनियानीका राकेश शाहले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।  दोस्रो हाफको अन्तिम समयमा बगानका तर्फबाट नवीन रेग्मीले एक गोल फर्काए ।
 खेलको म्यान अफ द म्याच राकेश शाह घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनियानि राजेश शाह नै घोषित भए । उत्कृष्ट गोल किपर बनियानीका सचिन शाह र उत्कृष्ट डिफेन्डर बगान क्लबका अभिषेक गुरुङ घोषित भए । प्रदेश सांसद वसन्त बानियाको प्रमुख अतिथि तथा आयोजक समिति अध्यक्ष नवराज ढुङ्गानाको अध्यक्षता सम्पन्न प्रतियोगिताको सञ्चालन समितिका कोषाध्यक्ष आशिष् वाग्लेले गरेका थिए ।

खेल्ने क्रममा घाइते भएका थिए खेलाडी बेश्रा
फुटबल खेल खेल्ने क्रममा एसिएल टियर भई लिगामेन्ट र नशामा समस्या आए पश्चात् करिब दुई लाख ५० हजार रुपैयाँ अपरेसन खर्च लाग्ने बेश्रा नितेश आर्थिक रुपमा अति विपन्न परिवार का हुन । वैदेशिक रोजगारीको क्रममा आफ्नो बाबु प्यारालाइसिस भई घर ल्याइएको बेश्राको सहयोगार्थ आयोजकले थप रकम पनि सङ्कलन गरी रहेको समितिले जनाएको छ।  हाम्रो साथीको उपचारको लागि रकम जुटाउन पनि हामीले यो खेल जित्नै पर्ने दबाबको साथ खेलेका हौ, जित घाइते बेश्राको लागि हो भन्दै कप्तान राजेश शाहले सहयोगको लागि समेत अपिल गरेका छन् । 

सम्बन्धित समाचार