हल्दिबारीको मितेरी टोलका सबै माओवादी केन्द्रमा प्रवेश
हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मितेरी टोलका सबै र आमराघुट्टु टोलका स्थानीय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नागरिकता दिलाएर नेपालको नागरिक बनाउने नै माओवादी केन्द्र भएको भन्दै स्थानीयहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र हल्दिबारी वडा नम्बर–४ ले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा मितेरी टोलका सबै र आमराघुट्टु टोलका केही स्थानीय अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । राज्यबाट उपेक्षित सीमान्तकृत सन्थाल, आदिवासी तथा कथित दलितहरूको बसोबास रहेको उक्त टोलका करिब ४० जना स्थानीय माओवादी केन्द्रमा प्रवेश गरेको क्षेत्र नम्बर ३ का माओवादी केन्द्रका संयोजक भवानी दंगालले जानकारी दिए ।
नेपाली नागरिक भए पनि नागरिकता विहीन हुँदा विभिन्न समस्या झेल्नुका साथै सरकारी सुविधाबाट वञ्चित भएर बसेको अवस्थामा माओवादी पार्टीकै कारण नागरिकता प्राप्त गर्न सकिएको भन्दै स्थानीयहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टीको जिल्ला सह इन्चार्ज ज्योतिसिंह दर्लामी, संविधानसभा सदस्य तथा पार्टीका जिल्ला सचिव मोहन टुडु ‘सरोज’, क्षेत्र नम्बर ३ का पार्टी संयोजक भवानी दंगाल लगायतले अबिर तथा खादा लगाएर स्वागत गरेका थिए । माओवादीका जनमुक्ति सेनामा सेक्सन कमान्डर भएर करिब ५ वर्ष काम गरेका हल्दिबारी–२ का सन्तबहादुर (सन्तोष) मान्युङ्गले आफू मन्दिरमा गएको बेला त्यहाँ कार्यक्रम गरिरहेको नेकपा एमालेका कार्यकर्ताहरूले आफूलाई एमाले प्रवेश गरेको भनेर अफवाह फैल्याएको भन्दै आक्रोश व्यक्त गरे । ‘माओवादी पार्टीमा गरेको त्यत्रो योगदान बिर्सन सकिँदैन,’ मान्युङ्गले भने । करिब २ हप्ता अगाडी स्थानीय दुर्गा मन्दिरमा गएको बेला फोटो खिचेर एमालेका कार्यकर्ताले पार्टी प्रवेश गरेको भन्दै भाइरल बनाएको उनको भनाई छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै संविधान सदस्य तथा पार्टीका जिल्ला सचिव टुडुले राज्यकै कारण सन्थालहरू खोला तथा जङ्गल छेउ र विकट भूभागमा बस्न बाध्य हुनु परेको बताउँदै मिठो आश्वासन दिएर हिँड्ने दलको पछि नलाग्न आग्रह गरे । नेकपा माओवादी केन्द्र सबै दलित, उत्पीडित , दलित, आदिवासी, जनजाति, सीमान्तकृत जनताको पक्षमा काम गर्ने पार्टी भएको भन्दै पार्टी प्रवेश गरेकाहरूलाई धन्यवाद दिए । तुर्सा हेमरमको उदाहरण दिँदै टुडुले नेकपा माओवादीकै कारण सन्थाल समुदायको भएर पनि आफू संविधानसभा सदस्य भएको र यो पार्टीले सिङ्गो सन्थाल समुदायलाई दिएको सम्मान भएको बताए । टुडुले आफ्नो पार्टीका जनप्रतिनिधिले हल्दिबारी–२ मा गरेको उदाहरणीय जनमुखी कामहरूको चर्चा गरेका थिए ।
कार्यक्रममा सन्थाल समुदायको संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । सन्थाल समुदायका अगुवा स्थानीय ‘माझी हडम’ सरकार किस्कुको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र हल्दिबारीका इन्चार्ज राजेन्द्र योङहाङ, अध्यक्ष दीपक खरेल, गाउँ कमिटि सचिव जितबहादुर राजवंशी, वडा नम्बर ४ का अध्यक्ष उमेश विमली, विक्रम विक, टिका राउत, खगेन राजवंशीलगायत कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।