भद्रपुरका चार वडामा माओवादीको निर्वाचन परिचालन कमिटी
झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिकाका चार वडामा नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन कमिटी गठन भएको छ ।शनिवार भएको वडा नम्बर १, २ , ३ र ९ को चुनावी विस्तारित बैठकबाट ती निर्वाचन परिचालन कमिटी गठन भएको हो । विस्तारित बैठकबाट १ नम्बर वडामा मेदनी सिवाकोटी, २ नम्बर वडामा नरपति चापागाईँ, ३ नम्बर वडामा एनपी वनेम र ९ नम्बर वडामा दिनानाथ उप्रेतीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
त्यस्तै, पार्टीको १ बुथ १०० यूथको अवधारणामा अन्तरगत वडा नम्बर १ को बुथ कमिटी दीपक आधारभूत विद्यालयमा जीवन बास्तोला, श्री आधारभूत विद्यालयमा गोपाल खाति, शान्ति आधारभूत विद्यालयमा घनश्याम नेपालीको र हिमालीमा मणिराज श्रेष्ठको नेतृत्वमा टोली परिचालन हुने भएको छ ।
यस्तै, मदन राईको अध्यक्षतामा ३१ सदस्यीय वाइसीएल १ नम्बर वडा कमिटी र चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा अनेम संघ क्रान्तिकारी ३१ सदस्यीय महिला कमिटी गठन भएको नेकपा माओवादी केन्द्र भद्रपुरले जनाएको छ ।
वडा नम्बर २ को सगरमाथा माविमा राजु दाहाल र सीता आबिमा मानु तामाङको नेतृत्वमा बुथ कमिटी गठन भएको छ भने वडा नम्बर ३ मा हर्क (लगन) रसाइलीको अध्यक्षतामा ५१ सदस्यीय दलित राष्ट्रिय मुक्ति मोर्चा भद्रपुर कमिटी गठन भएको छ ।
कार्यक्रममा पार्टीका झापा जिल्ला संयोजक अग्नि राजु आचार्य, ३ नम्बर क्षेत्रीय इन्चार्ज डिल्ली घिमिरे (हिक्मत), सह–इन्चार्ज सुजन सुब्बा, धर्म सिवाकोटी, क्षेत्र नम्बर ३ क प्रदेश संयोजक खगेन्द्र पराजुली, नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज एनपी वनेम, मेदनी सिवाकोटी, नगर अध्यक्ष शिवकुमार राज भण्डारी लगायतले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।