शिवसताक्षीका वडा अध्यक्षले दिए पदबाट राजीनामा
जनप्रतिनिधिले सवारी साधन र पाएको सुविधा फिर्ता गर्ने होडबाजी चलिरहेका बेला झापाको शिवसताक्षीमा एक जना वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
वडा नम्बर ८ का वडा अध्यक्ष केहरशिंह बस्नेतले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई सोमबार राजीनामा पत्र बुझाएका हुन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा त्यसैलाई विषय बनाएर राजीनामा दिने बस्नेत संभवत नेपालमा पहिलो वडा अध्यक्ष हुन् । यस अघि अन्य कारणले जनप्रतिनिधिले राजीनामा दिँदै आएका थिए ।
नगर प्रमुख शेर्माको कार्यकक्षमा पुगेर वडा अध्यक्ष बस्नेतले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारी छनौट तथा चुनावी प्रचार कार्यक्रमलाई सहयोग गर्ने हेतुले पदबाट राजीनामा दिएको बताएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा बस्नेत नेकपा एमालेबाट वडा अध्यक्ष पदमा भारी मतले विजयी भएका थिए । बस्नेत ०४६ पछि लगातार तीन पटक सम्म जनप्रतिनिधि भए ।
पछिल्लो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएपछि पालिकाले दिने मोटर साइकल सुविधा पनि उनले ०७४ सालमै पालिकालाई फिर्ता गरेका थिए । वडा अध्यक्ष हुँदाका बखत आफूलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका र सबै कार्यपालिका सदस्य र कर्मचारीहरूलाई धन्यवाद समेत दिएका छन् ।
‘मैले नेकपा एमालेबाट टिकट पाए पनि तपाईँ वडावासीको मतले निर्वाचन जिते । यो अवधि सम्म मलाई सहयोग, सल्लाह र सुझाव दिने नेकपा एमाले,नेपाली काँग्रेस, माओवादी लगायतका स्थानीय राजनीतिक दललाई धन्यवाद छ,’ उनले भने । पदबाट राजीनामा दिएपछि उनले कार्यवाहक अध्यक्षका रुपमा वडा सदस्य चूडामणि सिवाकोटीलाई अधिकार प्रत्यायोजन गरेका छन् ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले वडा अध्यक्ष ज्यूले एउटा हस्त लिखित कागज दिएको बताए । कागजमा के उल्लेख छ भन्ने विषयमा नगर प्रमुख शेर्माले अनभिज्ञता जनाए । ‘मेरो व्यस्तताका कारण वडा अध्यक्ष ज्यूले दिएको निवेदन मा के कुरा उल्लेख छ भन्ने मैले बुझेको छैन, नगर प्रमुख शेर्माले भने, ‘कार्यकक्षमा आउनु भयो । रातो गुलाबको फुल सहित निवेदन दिनु भयो । म गए है भन्दै बाहिरिनु भयो ।’
नगर प्रमुख शेर्माका अनुसार उहाँ नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हो, पार्टीलाई जानकारी नदिई राजीनामा हो भने मैले तत्काल त्यस विषयमा कारबाही अगाडी बढाउन मिल्दैन । वडा अध्यक्ष बस्नेतले आजै नेकपा एमालेको स्थानीय कमिटीमा पनि राजीनामा दिएको विषयमा जानकारी गराउने बताए ।