निर्वाचनलाई द्वन्द्वरहित बनाउन झापाका दलहरूको सात बुँदे प्रतिबद्धता
स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरूको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।
दलका नेताहरूले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितव्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोड भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू बिचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विस्तृत छलफल भएको थियो ।
२०७९ बैशाख ३० का लागि घोषित स्थानीय तहको निर्वाचनलाई सफल बनाउन दलहरूको भूमिका कस्तो हुन्छ र प्रतिबद्धता के छ भन्ने बारे भएको छलफलमा सहभागी १२ वटा दलका प्रमुख तथा प्रतिनिधिले विभिन्न सात बुँदे साझा प्रतिबद्धता घोषणा गरेका छन् । छलफलमा निर्वाचनका लागि घोषणापत्र तयारीबारे दलका नेताहरूले जानकारी गराएका थिए भने समेटिनुपर्ने विषयबारे प्रतिबद्धता जनाएका हुन् ।
नेकपा एमाले झापा अध्यक्ष तथा संविधानसभा सदस्य दीपक कार्की, नेपाली काँग्रेस झापाका सभापति देउमान थेबे, नेकपा माओवादी केन्द्र झापाका संयोजक अग्नि आचार्य, नेकपा एकीकृत समाजवादी झापाका जिल्ला सदस्य श्री सिटौला, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राईले निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धतासहित आफ्नो धारणा राखेका थिए ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा मालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री खगेन्द्र प्रसाईँ, राप्रपा नेपाल झापा अध्यक्ष कमलप्रसाद खरेल, विवेकशील साझा पार्टी झापाका संयोजक मेदनी प्रसाईँ, राष्ट्रिय जनमुक्ति पार्टी झापाका अध्यक्ष पर्शुराम मगर र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान मञ्च झापाका अध्यक्ष नगेन राईले आफ्नो धारणासहित प्रतिबद्धता व्यक्त गरेका छन् ।
साना दलका प्रतिनिधिहरूले ठुला दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने र निर्वाचन प्रचारलाई खर्चिलो बनाउने गरेको गुनासो गरेका थिए । मुख्य दलका नेताहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्न कसैलाई छुट नहुने भन्दै पूर्ण पालना गर्ने बताए ।
एमाले झापाका अध्यक्ष कार्कीले निर्वाचन आचारसंहिताप्रति आफ्नो पार्टी सचेत र प्रतिबद्ध रहेको बताउँदै नेतृत्वबाट आचारसंहिता उल्लङ्घन नहुने बताए । उनले कहीँकतै उल्लङ्घन भएको पाइएमा तत्काल पार्टी नेतृत्वलाई सूचित गर्न समेत आग्रह गरे । कार्कीले वर्तमान शासन प्रणालीप्रति आम नागरिकमा अपनत्वको अनुभूति हुन नसकेको भन्दै दलहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र अहिलेको व्यवस्था नागरिकको व्यवस्था भएको बुझाउनुपर्नेमा जोड दिए । उनले सबै दलहरू एकजुट भएर सङ्घीयता जोगाउनुपर्ने र चुनावको खर्च बचाउनुपर्नेमा ध्यान दिन आग्रह गरे । योग्यता पुगेका निम्न वर्गका नागरिक पनि नेतृत्वमा पुग्ने र सङ्घीयताको पूर्ण कार्यान्वयनको एक मात्र उपाय समानुपातिक प्रणाली भएको बताए ।
काँग्रेस झापाका सभापति थेबेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आफ्नो पार्टीले सबै दलसँग सहकार्यात्मक ढंगले भूमिका निर्वाह गर्ने बताए । आफ्नो पार्टीको घोषणापत्रमा पूरा गर्न सक्ने र स्थानीय आवश्यकता अनुसारका सबै विषय समेटिने बताए । उनले आदिवासी जनजाति, अल्पसङ्ख्यक, पछाडि पारिएका समुदायका पहिचान, अस्तित्व र अधिकारका विषयलाई समेत प्राथमिकतामा राख्ने बताए । माओवादी केन्द्रका संयोजक अग्निले निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन सबै तहमा सर्कुलर गर्ने बताए ।
यस्तो छ १२ दलको सात बुँदे प्रतिबद्धता :
१) निर्वाचन आचार–संहिता पूर्ण पालना गर्ने छौँ ।
२) कुनै पनि चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गर्ने छैनौँ ।
३) आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने छौँ ।
४) निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने छौँ ।
५) मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछौँ ।
६) हामी राजनीतिक दलका प्रतिनिधि एक अर्को दलको सहअस्तित्व स्विकारी आदर सम्मानपूर्वक व्यवहार र स्वस्थ प्रतिस्पर्धा गर्नेछौँ ।
७) राजनीतिक दलको तर्फबाट जारी गर्ने घोषणापत्रमा आम नागरिकमा परिवर्तनको अनुभूति हुने गरी समृद्ध स्थानीय तह निर्माणका समग्र विषय समेट्ने तथा घोषित कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
साथै, बालमैत्री शासनयुक्त स्थानीय तह निर्माण, अपाङ्गता भएकाहरू, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका समग्र समस्या, रेलवे प्रभावितहरूको मुआब्जाको समस्या, चिया क्षेत्रका समग्र समस्या, आदिवासी, जनजाति, अल्पसङ्ख्यक तथा पछाडि पारिएका समुदायका पहिचान– अस्तित्वका सवाल, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयलाई समेटेर सम्बोधन गर्नेछौँ ।