२०८३ बैशाख २४ गते , विहीबार

झापामा उम्मेदवार तालमेलका विषयमा सहमति नजिक गठबन्धन

sajilo news
झापा
२०७९ बैशाख २ गते , शुक्रबार
झापामा उम्मेदवार तालमेलका विषयमा सहमति नजिक गठबन्धन

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी तालमेलका विषयमा प्रतिगमन विरुद्ध सङ्घर्षरत पाँच दलीय गठबन्धनको बैठक बिर्तामोडमा सम्पन्न भएको छ । 

आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो र उम्मेदवार तालमेलका विषयमा बैठकमा छलफल भएको थियो । छलफलमा सहभागी नेपाली काँग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईँका अनुसार आज भएको बैठकमा उम्मेदवारी तालमेलका विषयमा भएको छलफल सहमति नजिक पुगेको हो । भोलि शनिवार अपराह्नसम्ममा पाँच दलीय गठबन्धनले उम्मेदवारी तालमेल सहमति पत्रमा हस्ताक्षर गर्ने सम्भावना रहेको सचिव हुमागाईँले बताए । 

गठबन्धन दलका  झापा जिल्ला संयोजक तथा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबे, संविधान सभा सदस्य तथा  नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधान सभा सदस्य मोहन टुडु, माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य सिपी कडरिया , झापा अध्यक्ष राजु आचार्य अग्नि, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट व्यूरो सदस्य भास्कर काफ्ले, निलमणि बराल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, झापा अध्यक्ष दीपेनवाला राई लगायत बैठकमा सहभागी थिए । बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । 

सम्बन्धित समाचार