झापामा गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत, काँग्रेस बोल्ड निर्णय गर्ने तयारीमा
स्थानीय तह निर्वाचनका लागि झापामा गठबन्धनबीच उम्मेदवार छनोटमा अझै तालमेल हुन सकेको छैन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समितिका पदाधिकारीले १५ वटै पालिकाहरू उम्मेदवार भागबन्डाका लागि छलफल गर्दै आएको छ । तर, छलफलमा काँग्रेस, माओवादी र समाजवादीले आ–आफ्नै अडान नछाडेपछि छलफल निष्कर्षमा पुग्न नसकेको हो ।
गठबन्धनमा भागबन्डा नमिलेको भन्दै काँग्रेस चुनावी गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले भर्खरै फेसबुक स्ट्याटसमा लेखेका छन्, 'नेपाली काङ्ग्रेसका सबै शुभचिन्तक, मतदाता, समर्थकहरू रुखमा मतदान गर्ने तयारीमा रहनुहोस् । आम कार्यकर्ताको व्यग्र चाहना अनुसार झापा काङ्ग्रेस बोल्ड निर्णय गर्न गइरहेछ । जय नेपाल !'
एकीकृत समाजवादीले शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका सहित अन्य २ गरेर पाँच वटा पालिकामा आफ्नो उम्मेदवारी रहनुपर्ने बताएको र माओवादीले दमक, गौरिगञ्ज , झापा सहित ५ वटा पालिकामा आफूहरूले उम्मेदवारी पाउनु पर्ने प्रस्ताव गरेको नेपाली काँग्रेस झापाका सभापति देउमान थेबेले हिमशिखर टेलिभिजनको नियमित कार्यक्रम हिमशिखर टकसोमा बताइसकेका छन् ।