झापा सुपर लिग : भद्रपुरलाई हराउँदै काँकडभिट्टाको पहिलो जित
लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोइ झापा सुपर लिगको तेस्रो तथा आजको दोस्रो खेलमा भद्रपुर राइजिङ किङ्सलाई ६ विकेटले पराजित गर्दै सनराइज काँकडभिट्टाले पहिलो जित हात पारेको छ। यसअघि उद्घाटन खेलमा काँकडभिट्टा विराट वारियर्ससँग पराजित भएको थियो ।
काँकडभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत टस जितेर पहिलो ब्याटिङ गरेको भद्रपुरले ७ विकेट गुमाउँदै १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त सामान्य लक्ष्य पछ्याउने क्रममा सनराइज काँकडभिट्टाले ४ विकेट गुमाउँदै १६.५ ओभरमा लक्ष्य पूरा गरेको हो ।
रूपक बरालको कप्तानीमा मैदान उत्रिएको भद्रपुरका लागि मन्जित श्रेष्ठले नटआउट ६० बलमा ७९ रन बनाए भने कप्तान बरालले ३६ बलमा ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन नसक्दा भद्रपुर कमजोर लक्ष्य प्रस्तुत गर्न पुगेको थियो ।
बलिङतर्फ सनराइज काँकडभिट्टाका लागि आयुस न्यौपाने , फिर्दोश अन्सारी र सन्दीप ढुङ्गानाले समान २/२ विकेट लिए भने कमल खत्रीले १ विकेट हात पारे।
सनराइज काँकडभिट्टालाई जित दिलाउने क्रममा भूपाल दंगालले अविजित ४४ बल खेल्दै ५१ रन बनाए भने सुभांकर उराउले अविजित १६ बलमा २७ रन बनाउन सफल भए। त्यस्तै सन्दीप ढुङ्गाना २३ बलमा ३८ रन ,पवन सरार्फ ७ बलमा २ रन, किस्मत पौडेल १० बलमा ६ रन बनाउँदै आउट भएका थिए।
बलिङतर्फ भद्रपुरका आसिक राना मगर र सौजन घिमिरेले समान २/२ विकेट हात पारे भने मेहबुब आलम, प्रेम सिंह , श्रवण यादव र मंजित श्रेष्ठले विकेट लिन सकेनन् । खेलको म्यान अल द म्याच विजेता टोली काँकडभिट्टाका अलराउण्डर सन्दीप ढुङ्गाना घोषित हुँदै नगद रु ३००० प्राप्त गरे ।
यसअघि आजै भएको पहिलो खेलमा धुलाबारी टाइगर्सले बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गरेको थियो । प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।प्रतियोगिताको वेस्ट बलरले १० हजार, वेस्ट, प्लेयरले १५ हजार, वेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु ३ हजार प्राप्त गर्नेछन् ।