२०८३ बैशाख २६ गते , शनिबार

भद्रपुरका एमाले कार्यकर्ता असन्तुष्ट, बढी मतभर ल्याउनेलाई हटाएर अन्यलाई टिकट !

sajilo news
झापा
२०७९ बैशाख ११ गते , आईतबार
भद्रपुरका एमाले कार्यकर्ता असन्तुष्ट, बढी मतभर ल्याउनेलाई हटाएर अन्यलाई टिकट !

(नेकपा) एमालेले आन्तरिक चुनावी प्रतिस्पर्धा गरेर मेयर र उपमेयरमा टिकट दिए पनि वडा स्तरमा त्यो लागू नहुँदा कार्यकर्ताहरु असन्तुष्ट देखिएका छन् ।

एमाले जिल्ला कार्य समितिले स्थानीय तह उम्मेदवार छनौटका लागि वडादेखि नगरसम्म उम्मेदवार छनोटका लागि आन्तरिक चुनावी प्रतिस्पर्धा गराएका थिए । सोही प्रतिस्पर्धा अनुसार उम्मेदवार छनोट नभएको पाइएको छ । नेकपा एमाले प्रदेश कमिटीले आन्तरिक चुनावी प्रतिस्पर्धाबाट झापा जिल्लाको पालिकाका प्रमुख र उपप्रमुखमा बढी मत ल्याएको नाम मात्र घोषणा गरेर अन्यलाई पाखा लगाउने काम गरेको असन्तुष्ट बनेका एमाले कार्यकर्ताहरू बताउँछन् । यसैबिच भद्रपुर नगरपालिकामा यस्तै देखिएको छ । नगरपालिकाका मेयर र उपमेयरमा बढी मत ल्याउनेलाई छनोट गर्दा वडा अध्यक्ष र सदस्यमा बढी मत ल्याउनेलाई उम्मेदवार बन्नबाट वञ्चित गराइएको छ ।

भद्रपुर- ६ नम्बर वडा अध्यक्षमा प्रेम बरुवालले आन्तरिक चुनावी प्रतिस्पर्धामा सबै भन्दा बढी मताभर ल्याएका थिए । तर, उनलाई पार्टीले वडा अध्यक्षको टिकट दिएन । उनी हालका वडा अध्यक्ष समेत हुन् । उनका ठाउँमा आन्तरिक चुनावी प्रतिस्पर्धामा तेस्रो नम्बर आएका सहतलाल राजवंशीलाई वडा अध्यक्षको टिकट दिएका छन् । वडा अध्यक्षमा दोस्रो नम्बर पाएका प्रकाश शर्मा फेरि सदस्यको टिकट पाएका छन् । उनी सदस्यमा नउठ्ने र वडा अध्यक्षमा उठ्ने दाउमा रहे पनि पार्टीले सदस्यमा ल्याएर राखिदिएका छन् । वडा अध्यक्षको चौथो दाबेदार किरण कार्की थिए ।

वडा सदस्यमा गोपालचन्द्र मण्डल, विभा पासवान, सन्ध्या हाडा र रणधिर ठकुरीको नाम सिफारिस भएको थियो । उनीहरूले नै आन्तरिक चुनावी प्रतिस्पर्धामा बढी मताभर ल्याएका थिए । त्यसमध्ये दुई महिलालाई वडा सदस्यको टिकट दिए पनि एमालेका नगरकै पुराना कार्यकर्ता मण्डल र ठकुरीलाई पार्टीले अन्ततः टिकट दिएनन् । मण्डल २०२६ सालदेखि एमालेका इमानदार कार्यकर्ताको रुपमा नगरमा परिचित छन् । उनलाई पार्टीले मूल्याङ्कन नगरेर पाखा लगाए  । मण्डलले भने, 'एमालेमा बस्नुको अब कुनै अर्थ छैन, पार्टी छाडेर अब स्वतन्त्र जीवन बिताउने छु ।' मण्डल बङ्गाली समुदायका अग्रज पनि हुन् । पार्टीले जातियतालाई पनि हरेक पटक बाहेस गरेर हिँडेको उनको आरोप छ । मण्डल र ठकुरीको स्थानमा प्रकाश शर्मा र दिलीप माझीलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ । भद्रपुरका अन्य वडामा पनि कार्यकर्ताहरू पनि असन्तुष्ट देखिएका छन् ।  

सम्बन्धित समाचार