बुद्धशान्तिकी इन्चार्ज पराजुली र हल्दिबारीकी तिवारीले छाडिन् एमाले
स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारी चयन गर्दा पालिकामा पार्टीकी इन्चार्जलाई बेवास्ता गरेकोप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले बुद्धशान्तिकी इन्चार्ज तथा झापा जिल्ला कमिटी सदस्य योगमाया पराजुलीले पद र पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी छिन भने नेकपा एमालेकै सङ्गठित सदस्य हल्दिबारी ३ की इश्वरा तिवारीले पनि राजीनामा घोषणा गरिन् ।
पछिल्लो समय पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको तथा स्थानीय तहको उम्मेदवार छनौट गर्दा क्षमता भएकालाई भन्दा पनि उपल्लो तहबाट भनसुनका भरमा टिकट वितरण गरेको भन्दै असन्तुष्ट रहकी पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी छिन् । २०५४ सालको स्थानीय चुनावमा महिला सदस्यमा समेत निर्वाचित जनप्रतिनिधि थिइन् ।
आगामी दिनमा स्वतन्त्र रहेर सामाजिक काममा सक्रिय रहने जनाउँदै पराजुलीले राजीनामा घोषणा गर्नुको कारण पहुँचवालाको हरेक कुरा सही भन्ने परिपाटीबाट आफू मुक्त भएको बताइन् ।
आगामी ५ वर्षे कार्यकालका लागि बैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न मनोनयन दर्ता गर्ने पहिलो दिन आज झापामा नेकपा एमालेका तर्फबाट अधिकांश स्थानीय तहमा मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेको हल्दीबारी गाउँपालिका उपाध्यक्ष छनोटमा विवाद उत्पन्न भएको छ । उपाध्यक्ष छनोट तथा सिफारिस पारदर्शी र नियमसंगत नहुनुका साथै आफूलाई छेक्ने काम भएको भन्दै तिवारीले राजीनामा दिएकी छिन् । संविधान जारी भएपछि पहिलो स्थानीय तह निर्वाचन पश्चात् हल्दिबारी गाउँपालिका तथा अन्य पालिकामा समेत सुशासनका लागि खबरदारी गर्दै आएकी तिवारी सूचनाको हक अभियानकी अभियन्ता समेत हुन् । बैशाख ३० गते हुने निर्वाचनमा पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदको आंकाक्षी तिवारीलाई उमेद्वारका रूपमा एमाले हल्दिबारीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा सामेल हुन नदिएपछि जिल्ला कमिटीमा उनले नेकपा एमाले जिल्ला कमिटी झापामा छलफल गरिपाऊँ भनेर माग समेत गर्न भएको बताइन् ।
नेकपा एमालेको १० औं महाधिवेशन पूर्व सदस्यता नवीकरण गर्न मैले स्थानीय कमिटीमा अनुरोध गर्दा नवीकरण भइसकेको भनेर जानकारी पाएको थिए, निवेदनमा उल्लेख गरिन् । पार्टीमा कस्ता व्यक्तिले उम्मेदवारी पाउने उनले पार्टी समक्ष जिज्ञासा समेत राखिन्। ‘मैले पहिले पार्टीमा उम्मेदवारी दिन जाँदा दिन पाइने बताइयो’ तिवारीले भनिन्– ‘पार्टीको गाउँपालिका बाहिर भएको छलफलमा गाउँपालिकाको टिमले तपाईँको नाम टिपिँदैन, यदि टिपिहाले पनि जिल्ला पठाइँदैन ।’
निवेदनमा सङ्गठित सदस्यता नम्बर ख ७०११०२ रहेको उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त र बिचारको अनुशासन पूर्वक पालना गरेको बताएकी छिन् । ‘मलाई पार्टीको आन्तरिक प्रतिस्पर्धा र छनौटमै सामेल हुने फारम भर्नसम्म दिइएन ।’ उनले आफूलाई सदस्यता नवीकरण नगरेको बहाना बनाएर अन्याय गरेको बताइन् । यता एमाले हल्दीबारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटाले पार्टी केन्द्रको उम्मेदवारी मापदण्ड नपुगेका कारण तिवारीले उम्मेदवारी नपाएको प्रतिक्रिया दिइन।
सूचनाको हककी अभियन्ता समेत रहेकी तिवारीले गाउँपालिकामा सञ्चालन भएका विभिन्न सार्वजनिक सरोकारका सूचना माग गर्दा सहज रुपमा नपाएपछि सूचनाको हक समेत प्रयोग गर्नु परेको थियो । सोही क्रममा तत्कालीन बहालवाला उपाध्यक्षसँग मौखिक टक्कर समेत परेको जानकारहरू बताउँछन् ।