कचनकवलमा काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजवंशीविरुद्ध उजुरी
नेपाली काँग्रेसका तर्फबाट कचनकवल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका कालेन्द्रप्रसाद सिंह राजवंशीविरुद्ध उजुरी परेको छ
कचनकवल १ स्थित बुद्ध आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुँदा पेस्की फर्छ्यौट नगरेको भन्दै उम्मेदवार राजवंशीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । त्यस विद्यालयको करिब १६ लाख पेस्की फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ । राजवंशी २०७४ सालमा सो विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रहेका थिए ।
अध्यक्षका उम्मेदवार राजवंशीविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले बताए । उनले मेचीनगरका वडाध्यक्षका एक जना उम्मेदवारविरुद्ध पनि उजुरी परेको जानकारी दिए । ती उम्मेदवारको नाम थाहा हुन सकेको छैन । नेकपा एमालेसँग गठबन्धन गर्ने गरी काँग्रेसका तर्फबाट राजवंशी अध्यक्षमा उठेका हुन् ।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी अध्यक्षमा उठेका थिए । मनोनयन दर्ता गराएका उम्मेदवारहरूमाथि उजुरी गर्ने समय मङ्गलवार साँझ ५ बजेसम्म रहेको थियो । ती उजुरीमाथि बुधवार र बिहीबार छानबिन गरेर १६ गते अन्तिम नामावली प्रकाशन गरिने सूचना अधिकारी पाण्डेले जानकारी दिए ।