स्थानीय तह निर्वाचन : भद्रपुरमा नमुना मतदान सम्पन्न
स्थानीय तह निर्वाचनमा मतदान प्रक्रिया सहज बनाउन र अधिक सहभागिताका लागि निर्वाचन कार्यालय झापाले भद्रपुरमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । साङ्केतिक चुनाव चिन्ह राखेर स्थानीय तहका ७ वटा पदमा मतदान गर्न मेची क्याम्पसका विद्यार्थीलाई अवसर दिँदै नमुना मतदान गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत गिरिराज गौतम मतदान केन्द्र प्रमुख र झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल सहायक मतदान अधिकृत भएर अन्य कार्यालयका प्रमुखहरू सहायक कर्मचारीका रूपमा भूमिका निर्वाह गर्दै वास्तविक निर्वाचनकै शैलीमा निर्वाचन गरिएको थियो ।
सो प्रक्रियामा विद्यार्थीहरू मतदाता, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न कार्यालयका प्रमुखलगायतको बाक्लो उपस्थिति रहेको थियो । जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले सहजीकरण गर्दै निर्वाचनमा भाग लिने र पालना गर्नु पर्ने नियम जानकारी गराएका थिए भने सहभागीहरूले मतदान प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।