२०८३ बैशाख २६ गते , शनिबार

झापाका तीन स्थानीय तहमा रोचक गठबन्धन

sajilo news
रासस
२०७९ बैशाख २३ गते , शुक्रबार
झापाका तीन स्थानीय तहमा रोचक गठबन्धन

झापा । १५ स्थानीय तह रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् ।

नेपालकै होचो स्थानका रूपमा परिचित कचन कबलमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ। ‘अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो’, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, ‘स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो।’

कचन कबलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार छन्। दुवै उम्मेदवार संयुक्तरूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन्। पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार छन्।

यसैगरी कनकाई नगरपालिकामा कांग्रेस र एमाले बाहेकका दलको गठबन्धन बनेको छ। कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन्। २०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएका थिए। एमालेले दुवैलाई सोही पदमा दोहो¥याएको छ। 

कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ। कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाएका छन्। 

थापाको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ। गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार छन्। विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ।

यस्तै दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बृहत् गठबन्धन बनेको छ। एमाले एक्लै चुनावी मैदानमा छ। दमकमा नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन्।

एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ। राप्रपासहितको गठबन्धनमा कांग्रेस र  माओवादी केन्द्र संलग्न छ। जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ।

सम्बन्धित समाचार