२०८३ बैशाख २६ गते , शनिबार

कनकाईलाई समृद्ध र सुशासनयुक्त बनाउने मेयर–उपमेयरका उम्मेदवारका साझा एजेण्डा

sajilo news
झापा
२०७९ बैशाख २३ गते , शुक्रबार
कनकाईलाई समृद्ध र सुशासनयुक्त बनाउने मेयर–उपमेयरका उम्मेदवारका साझा एजेण्डा

स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले नगरको बेरोजगार समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू उम्मेदवार बनेको बताएका छन् ।
उनीहरुले आफू निर्वाचित भएको खण्डमा कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने दाबी प्रस्तुत गरे । नगरमा ठूलो संख्यामा शिक्षित युवा बेरोजगार रहेको तथा बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेकाले उक्त समस्यालाई नगरभित्रै रोजगार सिर्जना गरेर समाधान गर्ने उनीहरुको भनाइ छ ।
संवाद समूह झापा र कनकाई सुरुङ्गा प्रेस क्लबको संयुक्त आयोजनामा शुक्रबार बिहान सुरुङ्गामा भएको छलफलमा सबै दल तथा स्वतन्त्र रुपमा उम्मेद्वार बनेकाहरु एकै थलोमा उपस्थित भएर आफ्ना एजेण्डा प्रस्तुत गरे । उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित बनाउन सहयोग गर्दै निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने पनि प्रतिवद्धता जनाए ।  
नेकपा एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बितेको पाँच बर्षमा पूरा गर्न नसकेको कामहरु आगामी कार्यकालमा पूरा गर्न पुनः उम्मेदवार बनेको बताए । उनले नगरभित्रका सुकुम्बासीलाई तीन महिना भित्र जग्गाधनी पूर्जा वितरण गर्ने धारणा राखे । पोखरेलले कनकाईलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास गर्न विगतमा धेरै काम गरिसकेको र बाँकी काम पनि तत्कालै गर्नेगरी अघि बढेको बताए ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार रुद्रप्रसाद चिमरियाले आफूले नगरभित्रको सुकुम्बासी समस्या राम्ररी बुझेको बताए । उनले आफू मेयर निर्वाचित भए पहिलो प्राथमिकतामै सुकुम्बासीलाई धनीपूर्जा वितरणको काम गर्ने भनाइ राखे । चिमरियाले नगरभित्रको बेरोजगार समस्यालाई वडास्तरमै साना साना लघु उद्योग खोलेर रोजगार सिर्जना गर्ने जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य र कृषि तथा कनकाई रिङरोडलाई नगरकै विशेष योजनाअन्तर्गत अघि बढाउने बताए ।
राप्रपाबाट मेयर पदका उम्मेदवार श्यामसुन्दर ओलीले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकताको जिम्मेवारी भएको बताए । उनले वृद्धवृद्धालाई निःशूल्क औषधोपचारको व्यवस्था गर्ने बताए । गर्भवती महिलाका लागि सुनौला एक हजार दिन कार्यक्रम लागू गर्ने उनको भनाइ छ । उनले आफू निर्वाचित भए करको दर घटाउने र कर प्रणालीलाई वैज्ञानिक ढंगबाट अघि बढाउने बताए ।
विवेकशील साझा पार्टीबाट मेयर पदका उम्मेदवार भीमप्रसाद अधिकारीले ३० बर्षदेखि समाधान हुन नसकेको नगरको सुकुम्बासी समस्या समाधान गर्ने बताए । उनले कमिसन र बाढी, डुबान मुक्त नगर बनाउने धारणा राखे । उनले नगरको आयस्रोत वृद्धि गरी नगरवासीमा रहेको करको भार घटाउने दाबी गरे । उनले महिला सशक्तिकरणमा जोड दिदै नगरभित्र रोजगारको अवसर सिर्जना गर्नेमा आफू लागिपर्ने बताए ।
मौलिक जरोकिलो पार्टीबाट मेयर पदकी उम्मेदवार टंका उप्रेतीले कनकाईमा यहा“को मौलिकतासंग मिल्ने शासन व्यवस्था लागू गर्ने बताइन । उनले कनकाईलाई कृषिमा आत्मनिर्भर हुने योजना ल्याउने बताइन् । नदी तटबन्धन गर्ने तथा साना उद्यम चलाएर भएपनि युवालाई नगरभित्रै रोजगारको व्यवस्था गर्ने योजना आफूहरुसंग भएको बताइन् ।
स्वतन्त्ररुपमा  मेयर पदका उम्मेदवार शेरबहादुर थापाले कनकाईलाई पूर्वकै प्रमुख पर्यटकीय नगरीको रुपमा विकास गर्ने बताए । उनले आफू निर्वाचित भए नगरबाट गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्ने बताए । थापाले युवाका लागि रोजगारी सिर्जना गर्नुकासाथै शिक्षा र स्वास्थ्य तथा पूर्वाधार विकासमा जनतामुखी कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
मेयर पदका अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले आफू भ्रष्टाचारमुक्त नगर बनाउने अभियान बोकेर उम्मेदवार बनेको बताए । उनले कनकाईका युवाहरुको अवस्थालाई बुझेर उनीहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजनासाथ मेयर पदमा चुनाव लड्न लागेको बताए । उनले विकासको नाममा भौतिक पूर्वाधार निर्माण मात्र नभई मानव विकासको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उपमेयर पदका उम्मेदवारहरु एमालेबाट मञ्जु प्रसाई, कांग्रेसकी आशा शिवाकोटी, नेकपा एकीकृत समाजवादीकी अम्बिकादेवी महत, विवेकशील साझा पार्टीबाट अम्बिका चापागाईं, राप्रपाबाट सचित्रा खनाल र मौलिक जरोकिलो पार्टीबाट शान्ता दाहालले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरु, विपन्न तथा पछाडि पारिएका समुदाय र क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर आफ्नो एजेण्डा प्रस्तुत गरे ।
प्रेस क्लवका अध्यक्ष राम निरौलाले स्वागत र पूर्व अध्यक्ष तीर्थराज खरेलले धन्वाद ज्ञापन गरेका थिए ।
छलफलको सहजीकरण पत्रकारहरु एकराज गिरी र अर्जुन राजवंशीले गरेका थिए । छलफलपछि आचारसंहिता पालना लगायतका उम्मेद्वारका साझा प्रतिवद्धताको वाचन संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् ।

सम्बन्धित समाचार