झापाका मतदान केन्द्रहरूमा आजदेखि निर्वाचन सामग्री पठाइदैं
जिल्ला निर्वाचन कार्यालय झापाले आजदेखि मतदान केन्द्रहरूमा आवश्यक सामग्रीहरू पठाउने तयारी गरेको छ । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार २८६ मतदान केन्द्रमा आज र भोलि गरेर दुई दिनमा सबै सामग्री पुराइनेछ ।
निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत मार्फत सामग्री पठाउने तयारी गरेको हो । निर्वाचन कार्यालयका प्रमुख नेपालका अनुसार मतपत्र, मतपेटिका र मतदान केन्द्रमा आवश्यक पर्ने सबै प्रकारका सामग्री मतदान अधिकृतहरू मार्फत केन्द्रहरू पठाइनेछ । उनले सामग्री ढुवानीका लागि तयारी पुरा गरेको जानकारी दिए ।
यस्तै, झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । उनले आवश्यक सुरक्षा प्रबन्धसँगै सामग्री पठाउने काम भइरहेको जानकारी दिएका छन् । कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेर मतदान केन्द्रहरूमा खटाइसकिएको उनको भनाई छ । मतदान केन्द्रमा आज र भोलीसम्ममा पत्र पठाइसक्छौँ, उनले भने – माई वारी र पारी गरेर मतपत्र पठाउने तयारी छ ।
यस्तै, सबै पालिकाको मतगणना स्थल सुरक्षाका लागि सिसी क्यामेरा जडानको काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । उनका अनुसार सुरक्षा प्रबन्ध मिलाउने निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आआफ्नो जिम्मेवारी अनुसार तयारी अन्तिम चरणमा पुराएको बताए । झापामा ७ लाख मतपत्र आएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थापन मिलाइएको बताएका छन् । उनका अनुसार कतिपय मतदान केन्द्रहरूमा सुरक्षा जनशक्ति पठाउने काम भइरहेको जानकारी दिए ।
झापाको २८६ मतदान केन्द्रहरूमा १८ सय नेपाल प्रहरी र २९ सय म्यादी प्रहरीलाई सुरक्षार्थ खटाइएको बताएका छन् । स्थायी ठेगाना भन्दा बाहिरको मतदान केन्द्रहरूमा म्यादी प्रहरी पठाइएको छ, प्रवक्ता पाठकले भने– हरेक बुथमा नेपाल प्रहरी र म्यादीको सुरक्षा हुनेछ । यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीले गस्ती गर्ने उनको भनाई छ । कतिपय सुरक्षाकर्मीहरू मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै मतपेटिका बुझेर मतदान केन्द्रहरू जानेछन् ।