राजेन्द्र लिङ्देनले भने- 'जसलाई हात काटेर दिँदै हुनुहुन्छ, उसले सहयोग गर्नुको साटो तपाईँको घाटी नअठ्याओस्'
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निर्वाचनमा राम्रो पार्टी र राम्रो नेता छान्न मतदाताहरूलाई आग्रह गरेका छन्
राप्रपाद्वारा आज बिहान बिर्तामोड ३ स्थित बिर्ता बजारको पुण्डरीक चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले विगतका निर्वाचनमा राम्रो पार्टी र राम्रो नेता चुन्न नसक्दा जनताले दुख भोग्नुपरेकाले यस स्थानीय तहको निर्वाचनमा राम्ररी सोच विचार गरेर मात्र भोट हाल्न आग्रह गरेका हुन् । ‘तपाईँहरूले हात काटेर मत दिँदै हुनुहुन्छ’उनले भने ,‘ जसलाई हात काटेर दिँदै हुनुहुन्छ , उसले सहयोग गर्नुको साटो तपाईको घाटी नअठ्याओस् ।’
अहिले मतदाताहरूले दलका नेता र उम्मेदवारहरूबाट अतिरिक्त नमस्कार पाइरहेको भन्दै लिङ्देनले भने ,‘भोट हाल्ने लाइनमा उभिँदासम्म तपाईँलाई कोट्याइ कोट्याइ नमस्कार गर्ने नेताहरूले भोट हालेर फर्किदा तपाईकोे नमस्कार फर्काउँदैनन् ।’ त्यसकारण मतपत्र र स्वस्तिक छाप आफ्नो हातमा परेको बेला प्राप्त हुने शक्तिलाई सही सदुपयोग गर्न उनले आग्रह गरे ।
पार्टीका क्षेत्रीय अध्यक्ष दीपक मास्केको अध्यक्षतामा भएको कार्यक्रममा ३ न। वडाका वडाध्यक्षका उम्मेदवार किरण पौडेल , वडा सदस्यका उम्मेदवार रुमिला राईलगायतले बोलेका थिए । कार्यक्रममा मेयरका उम्मेदवार ध्रुव उप्रेती , उपमेयरका उम्मेदवार रन्जु प्याकुरेल , पार्टीका केन्द्रीय नेता भक्ति सिटौला , जिल्ला अध्यक्ष केशव ओझालगायतको उपस्थिति रहेको थियो ।