सिलाई कटाइदेखि राजनीतिसम्म
बिर्तामोड नगरपालिका ८ कि दलित महिला सदस्य लक्ष्मी नेपाली राजनीतिमा आउनु अघि सामान्य सिलाई कटाई व्यवसायमा आबद्ध थिइन्। गृहिणी बनेर घर चलाउँदै आएकी उनले अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य बन्ने अवसर पाएकी थिइन्। अवसर दिएको थियो,राप्रपाले ।
दलित महिला सदस्यमा विजयी वनेपछि उनले बल्ल वुझन थालिन घर बाहिरको संसार । सुरुमा निर्धक्क बोल्न नसक्ने उनी अहिले मज्जाले आफ्ना कुरा राख्न सक्षम भएकी छन्। यसरी उनलाई निर्धक्क बोल्न, आफ्ना कुराहरू राख्न र प्रश्न गर्न चाहिँ एउटा गैरसरकारी संस्था दलित महिला केन्द्र नेपालले सिकायो । भन्छिन्,‘सुरुमा त बोल्न पनि डर लाग्थ्यो’, उनले भनिन,‘दलित महिला केन्द्रको सि लिडस कार्यक्रमले बोल्न र आफ्ना कुरा निर्धक्क राख्न सिकायो ।’
उनले जनप्रतिनिधिमा हुनुपर्ने गुणदेखि काम, कर्तव्य र अधिकारसम्म जान्ने मौका पाइन्। आगामी ३० गते हुने निर्वाचनमा उनले पुनः दलित महिला सदस्यमै उम्मेदवारी दोहोर्याएकी छन्। राप्रपा नेपालमा आबद्ध लक्ष्मीले भनिन,‘दलित महिला उम्मेदवार पाउन गाह्रो भएपछि पार्टी दोहोर्याउने मौका दिएको हो ।’ उनले विजयी वने पुनस् विगतको झैँ जनताको पक्षमा काम गर्ने जनाइन्। दलित, महला र विपन्नका अधिकारका लागि आफू निरन्तर लडिरहेको उनले बताइन्।
दलित महिला केन्द्रका प्रशिक्षक नवीना सापकोटाले दलित महिला केन्द्रको प्रशिक्षणपछि झापाका धेरै जनप्रतिनिधि महिलाहरू आत्मविश्वासी र सक्षम वनेको बताइन्। उनले प्रशिक्षणकै कारण धेरै जनप्रतिनिधिहरूले थप महत्त्वपूर्ण जिम्मेवारी पाएको बताइन्। दलित महिला केन्द्र नेपालले झापाका बिर्तामोड, दमक, अर्जुनधारा, शिवसताक्षी, वुद्धशान्ति र कमल लगायतका ६ पालिकाहरूमा गरेको एक सर्वेक्षण अनुसार १ सय १० जनप्रतिनिधि महिलामध्ये २७ जना दलित महिलाहरूले मात्रै पुनस् त्यही पदमा टिकट पाएका छन्।