भद्रपुर–७ लाई नमुना बनाउने पुष्पलालको सङ्कल्प
भद्रपुर । झापा भद्रपुर नगरपालिका–७ का पुष्पलला राजवंशी एक सामाजिक व्यक्तित्व हुन् । उनी अहिले स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा चुनावी दौडमा छन् । वडाध्यक्षमा उम्मेदवारी दिनुमा उनको उद्देश्य अरू केही होइन, सामाज सेवाको उत्कट चाहना हो । भन्छन्, ‘म जनप्रतिनिधि भए पनि, नभए पनि सामाजिक सेवामै समर्पित हुने हो ।’
बुबा इन्द्रलाल र आमा हिरामणि राजवंशीको कोखबाट जन्मिएका पुष्पलाल २०५८ सालदेखि राजनीतिमा सक्रिय छन् । ‘राजनीति पेसा होइन, सेवा हो’, उनले भने, ‘राजनीतिलाई पेसा बनाइँदा जनताले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको अनुभूति गर्न पाएका छैनन् ।’
पुष्पलालले धेरै सामाजिक काम गरेका छन् । उनले भद्रपुर–७ मा देउनियाँ खोला आर्यघाट निर्माणमा महत्त्वपूर्ण निर्वाह गरेका छन् । ‘मृत्युको शोकपूर्ण अवस्थामा पनि व्यवस्थित आर्यघाट नहुँदा पनि पीडामाथि पीडा थपिने अवस्था थियो’, आर्यघाट निर्माण समितिका संस्थापक उपाध्यक्ष उनी भन्छन्, ‘अहिले त्यो अवस्थाको अन्त्य भएको छ, व्यवस्थित आर्यघाट बनाएका छौँ ।’
उनी भद्रपुर माविका व्यवस्थापन समिति अध्यक्ष हुन् भने वीरेन्द्र माविको व्यवस्थापन समितिका सदस्य । यस्तै, सहिद दीपक पोखरेल सामुदायिक भवनको संस्थापक अध्यक्ष हुन् । राजवंशी विकास समितिको जिल्ला सदस्य, ग्रामथान सेवा समितिका अध्यक्ष उनी संस्कार र सभ्यताको जर्गेनामा समेत उत्तिकै अग्रसर छन् ।
बाघडोग्रा लिम्बू डाँडा पुल निर्माण, लेखनाथ चोक–हल्दिबारी सडक निर्माणमा उनको भूमिका महत्त्वपूर्ण छ । चैतुबारी, केन्द्र मोड र काफ्ले टोलमा सुकुम्वासी बस्ती उनकै पहलमा स्थापना भएको हो । ‘गाँस, बाँस, कपासको अधिकार संविधानले नै दिएको छ’, उनले भने, ‘भूमिहीन सुम्कुम्बासीको पक्षमा म सधैँ लागेको छु, लागिरहनेछु ।’
‘किसानलाई प्राथमिकता दिएर कृषिमा आधुनिकीकरण, कृषिमा अनुदान दिएर युवालाई आकर्षित गर्ने योजना छ’, वडाध्यक्षमा उम्मेदवारी दिनुको तात्पर्य खुलाउँदै उनले भने, ‘कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था, महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन कार्यक्रम, गरिब तथा विपन्न जनतामा स्वास्थ्यको पहुँच वृद्धि गर्न छुट र सहुलियत दिने हाम्रो योजना छ ।’
वडाभरिका सबै भित्री सडकलाई आवश्यकता अनुसार ग्राभेल र कालोपत्रे गर्ने, आदिवासी रङ्गशाला बनाउने, स्थानीय सामुदायिक वनमा सबै वडावासीको पहुँच स्थापित गर्ने, गाउँ ब्लक जग्गालाई धनीपूर्जा दिने, रंगेडाँडामा मिनी पशुपति क्षेत्र बनाउने, देउनियाँ खोलामा पानी सम्बन्धी खेलकुद पर्यटन प्रवर्द्धन गर्ने, काली मन्दिर निर्माण, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, असहाय बालबालिका संरक्षण केन्द्र स्थापना गर्ने, अक्षयकोष स्थापना गरी जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने, वडा वडामा खानेपानी र बिजुली पु¥याउने, देउनियाँ खोलामा तटबन्ध गर्ने, नवउद्यमीलाई प्रवर्द्धन गर्ने लगायतका कैयौँ धेरै योजना रहेको उनले सुनाए ।
‘हाम्रो लक्ष्य नै नमुना वडा बनाउने हो’, उनले भने, ‘त्यसका लागि हामीलाई जनताले मत दिएर अनुमोदन गर्न जरुरी छ, एक पटक मत दिएर विश्वास गर्नुहोस्, तपाईँहरूको मत खेर जान दिने छैनौँ ।’
भद्रपुर–७ मा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट वडाध्यक्षमा पुष्पलाल राजवंशी, महिला वडा सदस्यमा सविता मैनाली घिमिरे, दलित महिला सदस्यमा बुधमाया बिक, वडा सदस्यमा सन्तोष घिमिरे र महेन्द्र पोखरेल छन् ।