काँग्रेस र राप्रपाले रचे भद्रपुरमा इतिहास, को हुन निर्वाचित मेयर पोखरेल ?
भद्रपुर । भद्रपुर नगरपालिकाको प्रमुख पदमा जितेर नेपाली काँग्रेसले इतिहास कोर्न सफल भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग चुनावी गठबन्धन गरेर काँग्रेसले यसपल्टको स्थानीय तह सदस्य निर्वाचनमा इतिहास रच्न सफल भएको हो । काँग्रेसले भद्रपुरको मेयरसहित चार वडा अध्यक्ष र आठ सदस्य जितेको छ ।
मेयरमा काँग्रेसका युवा नेता गणेश पोखरेल निर्वाचित भएका छन् । पोखरेलले नेकपा (एमाले) का युवा नेता असारु राजवंशी र राप्रपाका युवा नेता नवराज पनेरुलाई पराजित गर्दै भद्रपुरमा काँग्रेसको इतिहास कोर्न सफल भएका छन् । पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत र पनेरुले ६ हजार ३१० मत ल्याएका छन् ।
एमालेको लालकिल्ला तोड्दै काँग्रेसले प्रमुख पदमा इतिहास कोर्न सफल भएपनि एमालेले तीन वडा अध्यक्षसहित २६ वडा सदस्य जितेको छ । नगरको ५२ पदमध्ये एमाले २९ पदमा जित्दै बहुमत भने कायम राखेको छ ।
त्यस्तै गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवार दिएका माओवादीका शिवकुमार राजभण्डारी अन्ततः पराजित भएका छन् । नगरमा माओवादीले इतिहास रच्ने योजनालाई राप्रपाकी महिला उम्मेदवार राधा कार्कीले असफल बनाइदिइन । राजभण्डारीसँगै एमालेकी कौशिल्या अधिकारीलाई पराजित गर्दै कार्की उपमेयरमा जितिन् । कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत र अधिकारीले ८ हजार ४०३ मत ल्याएकी छिन् । उपमेयर जितेसँगै राप्रपाले भद्रपुरमा इतिहास रच्यो । राप्रपाले उपमेयरसहित दुई वडा अध्यक्ष र पाँच सदस्य जितेको छ । नगरको अन्तिम मत परिणामले माओवादी केन्द्र चौथो दल बन्न पुग्यो । माओवादीले एउटा वडा अध्यक्ष र एउटा सदस्य मात्र जितेको छ ।
अब नगरपालिकामा चार दलबाट निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा तीन दल मात्र थिए । चार दलले समग्र भद्रपुरको विकास कसरी गर्ने हो भनेर नगरका मतदाता प्रतीक्षामा छन् ।
मेयरमा निर्वाचित को हुन् गणेश पोखरेल ?
विक्रम संवत् २०३१ साल पुस ८ गते जीवनाथ पोखरेल र सुभद्रादेवी पोखरेलको ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका गणेश पोखरेल सरल स्वभाव र मिलनसार व्यक्ति हुन् । साबिक पृथ्वीनगर गाविस ६ हाल भद्रपुर नगरपालिका ८ का स्थानीय बासिन्दा पोखरेलको बाल्यकाल पृथ्वीनगरमै बितेको हो । उनले कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा सीता प्रावि पृथ्वीनगर र कक्षा ६ देखि ७ सम्म पढाई सरस्वती माविमा पूरा गरे । त्यसपछि उनी भद्रपुर आए । कक्षा ८ देखि १० सम्मको पढाई वीरेन्द्र मावि चन्द्रगढीमा उनले पूरा गरे । २०४८÷०४९ सालमा उनले एसएलसी पास गरे । उच्च शिक्षाका लागि मेची बहुमुखी क्याम्पस भद्रपुरमा भर्ना । क्याम्पसबाटै उनी विद्यार्थी सङ्गठनमा आबद्ध भई राजनीति क्षेत्रमा सक्रिय भएर लागे । सोही बेला उनी नेपाली काँग्रेसको क्रियाशील सदस्य बने । नेपाल विद्यार्थी संघ मेची क्याम्पस इकाई उपसभापति हुँदै क्याम्पसको स्ववियु निर्वाचनबाट दुई पटक सभापतिमा निर्वाचित भए । २०५५ र २०५७ मा । स्नातक पास गरेका उनी त्यसपछि नेवि संघको केन्द्रीय सदस्य भई पार्टीकै काम लागे । उनी काँग्रेस झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव हुँदै तीन कार्यकाल क्षेत्रीय सभापति बने । अहिले पनि उनी क्षेत्रीय सभापति हुन् । उनी निरन्तर पार्टीको काम कारबाही लागेका छन् । पार्टीसँगै उनी विभिन्न सङ्घसंस्थामा पनि आबद्ध छन् । उनी भद्रपुर जेसीजको पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघ, नेपाल अपाङ संघमा लगायत आधा दर्जन भन्दा बढी सामाजिक तथा परोपकारी संघ संस्थामा आबद्ध रहेका छन् । उनी व्यापार–व्यवसाय तथा कुनै रोजगारी नगरी राजनीति मार्फत समाज सेवा गर्दै समाजलाई सकारात्मक रुपमा रूपान्तरण गर्नु पर्छ भन्नेमा क्रियाशील रहेका छन् । उनले राजनीतिलाई प्रयोग गरेर अहिलेसम्म कहिल्यै लाभको पद लिएनन् ।
काँग्रेस र राप्रपाले रचे इतिहास
लोकतन्त्र र गणतन्त्र जारी भएपछि देशका जनताले नयाँ संविधान पाए । संविधान पाए लगतै २०७४ सालमा स्थानीय तह सदस्य निर्वाचन भयो । त्यस बेलाको निर्वाचनमा पनि काँग्रेसले भद्रपुरमा इतिहास रच्न असफल भयो ।
२००७ सालको परिवर्तन र प्रजातन्त्रपछि राजा शासनमा वि।सं। २००८ सालमा स्थापन भएको भद्रपुर नगरपालिकामा २०७४ सालसम्म काँग्रेसका कुनै व्यक्ति प्रमुख पदमा नजितेको इतिहास छ ।
यो नगरपालिकामा २०३८–३९ सालमा चन्द्रगढी र महेशपुर गाविसका केही वडाहरूलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो । २०७१ मा साबिक चन्द्रगढी र महेशपुर गाविसलाई गाभेर पुरै भद्रपुर नगरपालिका बन्यो । २०७३ को स्थानीय तहको पुनर्संरचना प्रक्रियामा साबिक भद्रपुर नगरपालिका र पृथ्वीनगर गाविस मिलाएर १० वडामा विभाजन गरी भद्रपुर नगरपालिका बन्न पुग्यो । वृहत् नगरपालिका हुनु भन्दा अघि २००८–२०१४ सालमा नगरको सभापति स्व.सत्यनारायण अग्रवाल बने । २०१४–२०१८ सालसम्म स्व। पदमबहादुर गिरी सभापति भए । २०१७ सालको ‘कु’ पछि राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गर्दै गाउँ, नगर र जिल्ला पञ्चायतको अवधारणा कार्यान्वयनमा ल्याए । २०१८–२०१९ सालसम्म स्व।मोहनलाल अग्रवाल भद्रपुरको सभापति भए । त्यसपछि राजाले पञ्चायती व्यवस्था अनुसार स्थानीय निर्वाचन गरायो । २०१९–२०२१ सालसम्म नगरको प्रधानपञ्चमा तुलसीप्रसाद आचार्य भए । २०२१–२०२३ सालसम्म स्व. डा. ऋषिकेश उपाध्याय प्रधानपञ्चको जिम्मेवारी निभाए । २०२३–२०२६ स्व. स्वयम्भूलाल श्रेष्ठ प्रधानपञ्च र चेतनाथ शर्मा उप(प्रधानपञ्च भए । २०२६–२०२९ सालसम्म स्व. डा. ऋषिकेश उपाध्याय प्रधानपञ्च र चेतनाथ शर्मा उप–प्रधानपञ्च भए । २०२९ माघ र फागुनमा ओमप्रकाश सरावगी प्रधानपञ्च भए । सरावगीमाथि मुद्दा लागेपछि उप–प्रधानपञ्च रामचन्द्र शर्मा २०२९–१२ देखि २०३३ सम्म कार्यवाहक प्रधानपञ्च चलाए । २०३४–२०३९ सालसम्म भक्तिमान देवान प्रधानपञ्च र ओमप्रकाश सरावगी उप–प्रधानपञ्च भए । २०३९–२०४४ सालसम्म ओमप्रकाश सरावगी प्रधानपञ्च र गोविन्दचन्द्र क्षेत्री उप–प्रधानपञ्चमा निर्वाचित भए । ओमप्रकाश सरावगी फेरि २०४५–२०४७ सालसम्म प्रधानपञ्च र भक्त खवास उप(प्रधानपञ्च भए । त्यसबेला कुनै दलबाट उम्मेदवारी दिन पाइँदैन थियो । दलमा लागेका व्यक्तिहरू पनि जन पक्षीयको तर्फबाट उम्मेदवार बन्ने व्यवस्था थियो । २०४७ सालको परिवर्तनपछि २०४९ सालमा स्थानीय निकायको निर्वाचन भयो । त्यस निर्वाचनमा राजनीतिक दलहरू खुलेर चुनावी मैदानमा उत्रिए । त्यसबेला काँग्रेसबाट मेयरमा जीतबहादुर पुरी र छविलाल रिजाल उपमेयरमा उठेका थिए । उनीहरूलाई पराजित गर्दै मेयरमा एमालेका पुष्पराज पोखरेल र सद्भावना पार्टीबाट उपमेयरमा भारतेन्दुकुमार मल्लिक विजयी भए ।
२०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयरमा ओमप्रकाश सरावगी र उपमेयरमा राजेन्द्रप्रसाद घिमिरे उठेका थिए । उनीहरूलाई पराजित गर्दै सद्भावना पार्टीका भारतेन्दुकमार मल्लिक मेयरमा र उपमेयरमा एमालेका जीवनकुमार श्रेष्ठ विजयी भए ।
त्यसपछि पूर्व राजा ज्ञानेन्द्र शाहले सत्ता हात लिँदै स्थानीय निकायको निर्वाचन गराउँदा २०६०–६१मा सालमा नगरको मेयरमा भारतेन्दुकमार मल्लिक र उपमेयरमा गोपाल धमला स्वतन्त्रबाट विजयी भए । उनीहरूले छोटो समय मात्र नगर चलाउन पाए ।
त्यसलगतै २०६२–६३ को दोस्रो जनआन्दोलन भयो । जनताले राजतन्त्र फाल्दै देशमा लोकतन्त्र र गणतन्त्र स्थापन गर्यो । त्यसपछि एकै पटक २०७४ सालमा पहिलो चरणको स्थानीय तह सदस्य निर्वाचन भयो । त्यो निर्वाचनमा पनि काँग्रेसले नगरमा हार बेहोरियो । काँग्रेसबाट मेयरमा गणेश पोखरेल र उपमेयरमा तारादेवी भुर्तेल उठेका थिए । काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै मेयरमा एमालेका जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रामाया श्रेष्ठ विजयी भएका थिए । अहिलेको निर्वाचनमा गठबन्धनसँग मिलेर काँग्रेसले एमालेको लालकिल्ला तोड्दै मेयर जित्दै इतिहास रचेको छ, भने राप्रपा पनि एक्लै चुनाव लडेर उपमेयर जितेर इतिहास रच्न सफल भयो ।