झापामा पनि यौन दुर्व्यवहारको आरोपमा सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ
यौन दुर्व्यवहारको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका सञ्चालक पक्राउ परेका छन् । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शङ्कर आट्र्स फाउन्डेसनका निर्देशक लालबहादुर शङ्कर पक्राउ परेका हुन् ।
दमक घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीको आरोप छ ।
इलाका प्रहरी कार्यालयमा किशोरीले वैशाख २८ मा उजुरी दिइएकी थिइन् । प्रहरीले भने चुनावी चहलपहलमा व्यस्त भएको भन्दै तीन दिनअघि मात्र उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी शङ्करमाथि बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।