देउनियाँ खोलाको सिँचाइ परियोजनामा बजेट छुट्टाउने मन्त्रीको प्रतिबद्धता
निर्माणाधीन देउनियाँ खोला सिँचाइ परियोजनालाई पूरा गर्न बजेट उपलब्ध गराउने प्रदेश नम्बर १ का ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री रामकुमार राई (पासाङ) बताएका छन् । मन्त्री पासाङले परियोजनाको स्थलगत अवलोकन गर्दै त्यसलाई पूरा गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
झापाको बिर्तामोड –७ मा निर्माणाधीन देउनियाँ खोला सिँचाइ परियोजनाको बाँकी काम सम्पन्न गर्न यसै वर्ष बजेट उपलब्ध गराउने मन्त्री पासाङले बताएका हुन् । बिर्तामोड ६ र ७ मा खानेपानीको समस्या हल गर्न प्रक्रिया पुर्याएर आउन त्यहाँका वडाध्यक्षलाई उनले आग्रह समेत गरेका छन् ।
त्यस्तै मन्त्री पासाङले देउनियाँ नदी तटबन्ध, सौन्दर्यीकरण र कोरिडोर निर्माणका लागी यसै वर्ष बजेट छुट्टाउने र बहुबर्षिय परियोजना बनाइ कार्य सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज सिपी कडरियाले बताए ।
मन्त्री पासाङसहित बिर्तामोड वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, माओवादी केन्द्रका झापा जिल्ला सह–इन्चार्ज कडरिया, मन्त्रालयका सचिव, सिँचाइ डिभिजन झापाका प्रमुखलगायतको सहभागिता रहेको माओवादी केन्द्रका बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले जानकारी दिए ।