२०८३ बैशाख ४ गते , शुक्रबार

बैंग्लोरलाई पराजित गर्दै राजस्थान रोयल्स आईपीएलको फाइनलमा 

sajilo news
एजेन्सी
२०७९ जेष्ठ १४ गते , शनिबार
बैंग्लोरलाई पराजित गर्दै राजस्थान रोयल्स आईपीएलको फाइनलमा 

जोस बटलरको उत्कृष्ट शतकमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले पराजित गर्दै राजस्थान रोयल्स इण्डियन (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सन् २००८ मा आईपीएल उपाधि जितेको राजस्थान त्यसको १४ वर्षपछि फाइनलमा पुगेको हो।

गएराति अहमदाबादमा भएको खेलमा राजस्थानले टस जितेर बैंग्लोरलाई पहिले ब्याटिङका लागि बोलाएको थियो। बैंग्लोरले पूरै २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनायो। बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर् यो। 

राजस्थानको जितमा जोस बट्लरले अविजित १०६ बनाए। उनले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे। कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन जोडे। बैंग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन जोडेको थियो। 

बैंग्लोरका रजत पटिदारले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए। राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३–३ विकेट लिए। ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले १–१ विकेट लिए। राजस्थानले अब उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै पराजित गरेर फाइनलमा प्रवेश गरेको हो। 

सम्बन्धित समाचार