२०८३ बैशाख ४ गते , शुक्रबार

भारतबाट कुवेत पुगेकी भद्रपुरकी अम्बिका १४ वर्षदेखि सम्पर्कविहीन

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १७ गते , मंगलबार
भारतबाट कुवेत पुगेकी भद्रपुरकी अम्बिका १४ वर्षदेखि सम्पर्कविहीन

झापा । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्।

सगरमाथा मावि पढदै गरेकी अवस्थामा घरकी कान्छी छोरी अम्बिका १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुगेकी थिइन्। घर छेउकी तारादेवी लिम्बुले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्‍याएकी थिइन्।

यहाँबाट पठाउने एजेन्ट तारादेवीको ५ वर्षअघि नै हत्या भइसकेकोले छोरीलाई खोज्न झन् समस्या उत्पन्न भएको उनकी ७३ वर्षीय वृद्ध आमा चन्द्रमाया गिरीले बताइन्। घरमा आमाबुबाको कुरा नसुनेर गाउँघरका महिलाको लहैलहैमा लागी अम्बिका जबरजस्ती विदेश जान्छु भनी हिँडिन्।

घरबाट छोरीको पासपोर्ट मात्र बनाइदिएको बताउँदै आमा चन्द्रमायाले भनिन्, ‘उमेर पुगेन भन्दै छोरी दिल्ली पुगेर आमा म विदेश जान्न, यहीँ काम गरेर एजेन्टको पैसा तिर्छु भनी फोनमा भनिन्। त्यसको केही दिनपछि कुवेत पुगेर छोरीले मलाई फेरि फोन गरिन्। आमा मलाई एजेन्टले अपर्णा थापा नामको भिसामा कुवेत पठायो, यहाँ घरायसी काम गर्दैछु। यहाँ मलाई कुनै पनि समस्या छैन। ‘एक महिनापछि नै एजेन्टको ३० हजार रुपैयाँ तिरिदिन्छु भनी सुनाइन्,’ उनले भनिन्।

छोरीले एजेन्टको ३० हजार पनि तिरिन्, ६ महिनासम्म सम्पर्कमा पनि थिइन्, कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इओढी नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पनि पठाइन्।

‘त्यसपछि छोरी एकाएक सम्पर्कविहीन भइन्,’ उनले आँखाबाट आशु झार्दै भनिन्, ‘फोन नम्बरसँगै छोरी पनि कुवेतमा हरायो, आउँछे आउँछे भनेर कुरेर बसेको १४ वर्ष नै बित्यो।’ घरको ऋण तिर्ने र कमाएको बाँकी पैसाले सुखको जीवन बिताउने छोरीको ठूलो इच्छा थियो।

‘गाउँघरमा कोही नयाँ मान्छे झोला बोकेर आउँदा छोरी नै आई कि भन्ने मनमा आश पलाउँछ,’ उनले भनिन्, ‘छोरी ज्यूँदो छ कि मरिसकेको होरु त्यो पनि खबर छैन मलाई लाग्छ छोरी बाँचेकी छिन्, छोरीलाई स्वदेश फर्काइदिन सबै समक्ष हात जोडेर बिन्ती गर्न चाहन्छु।’

फेसबुकमा फोटो हाल्दा छोरी भेटिन्छ भनेर गाउँका मान्छेले सुनाएपछि मात्र उनले छोरीको खोजी सुरु गरिन्। त्यस भन्दा अघि उनले पटक पटक एजेन्ट तारादेवी र छोरीसँगै विदेश पुगेर फर्किएकी महिलालाई घरमै भेटेर पनि छोरी कहाँ छिन्रु भनी सोध्दा उनीहरूले बताउन सकेनन्।

उनले छोरी खोजीदिनू भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाललाई भेटिन्। दाहालकै पहलमा अहिले छोरीको खोजी कार्य भइरहेको बताइएको छ।

चन्द्रमायाकी छोरी नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन्। किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको दुखेसो समेत उनले पोखिन्। उनी हाल कान्छा छोरा विमलसँग बस्दै आएकी छिन्।   

सम्बन्धित समाचार