२०८३ बैशाख ४ गते , शुक्रबार

सहिद स्मारक च्याम्पियन बन्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा

sajilo news
झापा
२०७९ जेष्ठ २० गते , शुक्रबार
सहिद स्मारक च्याम्पियन बन्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा

झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन भएको छ । झापा च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको छ ।लिगअन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा भएको १३औँ चरण तथा अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो ।

झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । मनिष लिम्बू र पूजन राईले एक–एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र राजीव मगरले एक–एक गोल फर्काए ।

लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो । दोस्रो बनेको प्लानिङ ब्याइजले ३१ अंक जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ ।

झापा यसअघि नै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो । त्यस्तै, झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । झापालाई लिग च्याम्पियन बनाउँदै बी डिभिजनमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले व्यक्तिगत उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा प्लानिङ ब्याइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा फागुराम थारु र खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

सम्बन्धित समाचार