२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको अर्जुनधारामा निजी संस्थालाई करोडभन्दा बढी सरकारी बजेट, स्थानीयको विरोध

sajilo news
झापा
२०७९ जेष्ठ २६ गते , विहीबार
झापाको अर्जुनधारामा निजी संस्थालाई करोडभन्दा बढी सरकारी बजेट, स्थानीयको विरोध

सुरेन्द्र भण्डारी । समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेल मैदान निर्माणका लागि सरकारले एक करोडभन्दा बढी रुपैयाँ लगानी गरेको पाइएको छ । अर्जुनधारा नगरपालिका–७ फूलमती किनार खेल मैदान निर्माणका लागि अर्जुनधारा नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले एक करोड १७ लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो । आर्थिक वर्ष २०६६/०६७ मा युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ लगानी गरेको थियो भने सोही आर्थिक वर्षमा अर्जुनधारा नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको हो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८मा युवा तथा खेलकुद मन्त्रालयले २५ लाख रुपैयाँ लगानी गर्दा अर्जुनधारा नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेको अर्जुनधारा नगरपालिकाका इन्जिनियर नीरज अधिकारीले जानकारी दिए ।

चालू आर्थिक वर्ष पनि युवा तथा खेलकुद मन्त्रालयले संघको स्वामित्वमा रहेको खेल मैदान निर्माणका लागि ८ लाख र अर्जुनधारा नगरपालिकाको तर्फबाट ९ लाख १८ हजार रुपैयाँ बजेट छुटाइएको र सोही बजेटबाट खेल मैदानमा घेरावाराको काम भइरहेको अधिकारीको भनाइ छ । संस्थागत स्वामित्वमा भएको जमिनमा खेल मैदान निर्माणका लागि सङ्घीय सरकार र स्थानीय सरकारले कुनै कार्यविधि नै नबनाई यति धेरै लगानी गर्नुले संस्थाका सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने स्थानीयको भनाइ छ ।

२०५५ सालमा स्थापित समाज कल्याण उद्धार सङ्घले यसअघि अर्जुनधारा खेल मैदान निर्माण गर्ने भन्दै सर्वसाधारणसँग रकम सङ्कलन गरेको अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले बताए । तर, सो रकमले अर्जुनधारा खेल मैदान नभई संस्थाको हितका लागि काम भइरहेको उनको भनाइ छ ।

साबिक अर्जुनधारा–४मा रहेको फूलमती खोलामा पुल निर्माण गर्दा बचेको ४ लाख रुपैयाँ समेत खेलकुदको विकासका लागि खर्च गर्ने जनाएपछि सङ्घलाई प्रदान गरिएको बताइएको छ । पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति झापाको १५ लाख र अर्जुनधारा नगरपालिकाको ५ लाख रुपैयाँ गरी २० लाख बजेट विनियोजन भएको थियो । सोही विनियोजित रकमबाट चार लाख रुपैयाँ बचेको र सो रकम समेत सङ्घलाई प्रदान गरेको बताइएको छ । फूलमती खोला किनारमा अर्जुनधारा रङ्गशाला बनाउने भन्दै सर्वसाधारणसँग सुरुमा रकम उठाउने पछि आफ्नै संस्थालाई फाइदा पुग्ने गरी काम गर्नु आफैँमा गलत भएको अध्यक्ष भट्टराईको भनाइ छ ।

खेल मैदान निर्माणका लागि कहाँबाट कति रकम आयो त्यो समेत पारदर्शी छैन– भट्टराईले भने– ‘यहाँ नीतिगत रुपमा कुनै काम भएको छैन । संस्थाका अध्यक्षसहितका पदाधिकारी नै समितिमा बसेर काम गरिरहेका छन् । राज्यबाट आएको यत्रो रकम निजी संस्थाको स्वामित्वमा रहेको खेल मैदान निर्माणमा खर्च हुँदैछ, यसले भोलि कसलाई फाइदा पुग्छ आफैँमा प्रश्न चिन्ह खडा भएको छ ।’

समाज कल्याण उद्धार सङ्घले अहिले खेल मैदान परिसरमा घेराबेरा गरिरहेको छ । समाज कल्याण उद्धार सङ्घले खेल मैदान पूर्ण रुपमा सम्पन्न गर्न सात करोड ४३ लाख रुपैयाँ लाग्ने जनाएको छ । खेल मैदान तयार भएसँगै फुटबल, भलिबल, दौड, व्याडमिन्टन, टेवलटेनिस खेल्न सकिने बताइएको छ ।

स्थानीयवासी विरोधमा

प्रस्तावित अर्जुनधारा रङ्गशाला निर्माणको काम कमसल भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । चालू आर्थिक वर्षमा २० लाख २१ हजार २ सय १६ रुपैयाँ ३ पैसाको लागतमा खेल मैदान परिसरमा घेरावेराको काम भइरहेको छ । जसमा अर्जुनधारा नगरपालिकाबाट अनुदान स्वरूप ९ लाख १८ हजार, खेलकुद मन्त्रालयबाट आठ लाख र समाज कल्याण सङ्घ (उपभोक्ता समिति) बाट तीन लाख ३ हजार २ सय १६ रुपैयाँ ३ पैसा बजेट विनियोजन भएको सङ्घका अध्यक्ष धर्मानन्द गुरागाईँले बताए ।

अहिले खेल मैदानको पूर्व र उत्तर तर्फ घेरावाराको काम भइरहेको छ । दुई विगाह नम्बरीसहित खेल मैदानको नाममा जम्मा ५ विगाह आठ कट्ठा जमिन रहेको सङ्घका अध्यक्ष गुरागाईँले बताए । थप एक कट्ठा जमिन लिने तयारी भइरहेको बताउँदै केही समयभित्रै खेल मैदानको दक्षिणतर्फ रहेको जमिन भूपेन्द्र सिवाकोटीबाट पास गर्ने गुरागाईँको भनाइ छ ।

समाज कल्याण उद्धार सङ्घले निर्माण गरिरहेको काम कमसल भएको भन्दै अर्जुनधाराका इन्जिनियर अधिकारीले समेत स्वीकृत नगरेको बताइएको छ । यता स्थानीयवासी सञ्जय थापाले खेल मैदानको कम्पाउन्डवाल निर्माणमा कमसल इँटाको प्रयोग गरेको बताएका छन् । यो खेलमैदान प्रस्तावित अर्जुनधारा रङ्गशाला हो– तर, खेल मैदानको घेरावारा एकदमै कमसल सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ । इँटा मात्रै हेर्ने हो भने दुई नम्बरी इँटाको प्रयोग छ ।

सङ्घ र नगरबीच सम्झौता, स्वामित्व सङ्घकै

समाज कल्याण उद्धार सङ्घ र अर्जुनधारा नगरपालिकाबीच खेल मैदान निर्माणमा सम्झौता गरेको पाइएको छ । तर, काम भने सङ्घका पदाधिकारीले नै समितिमा रहेर गरिरहेका छन् । २०७६ साल भदौ ३१ गते सङ्घका तर्फबाट अध्यक्ष धर्मानन्द गुरागाईँ र नगरपालिकाका तर्फबाट रघुनाथ खनालले हस्ताक्षर गरेका छन् । खनाल तत्कालीन समयमा निमित्त प्रमुख रहेका थिए ।

सम्झौता–पत्रमा अर्जुनधारा नगरपालिका–७ मा रहेको २ विगाह जमिन खेलकुद स्टेडियम निर्माण तथा सञ्चालनका लागि दोस्रो पक्षलाई उपलब्ध गराइने भनिएको छ । यहाँ पहिलो पक्ष सङ्घ र दोस्रो पक्ष अर्जुनधारा नगरपालिका रहेको छ । त्यस्तै स्टेडियम निर्माणमा प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउने र स्टेडियम निर्माणपछि खेलकुद सञ्चालनमा दोस्रो पक्षसँग मिलेर नीति निर्माण तथा कार्यान्वयन गर्ने भनिएको छ ।

यता दोस्रो पक्षको भूमिका खेल सञ्चालनका लागि स्टेडियम निर्माण गर्ने, स्टेडियम सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न कक्षहरू (खेलाडीका ड्रेस परिवर्तन गर्ने कक्ष, विशिष्ट अतिथि कक्ष कार्यक्रम सञ्चालन कक्ष, शौचालय) तथा पार्किङ स्थल निर्माण गर्ने, स्टेडियम सञ्चालन सम्बन्धी आवश्यक नीति नियमहरू पहिलो पक्षसँग मिलेर निर्माण गर्ने तथा कार्यान्वयन गर्ने भनिएको छ ।

सम्बन्धित समाचार