२०८३ बैशाख ४ गते , शुक्रबार

स्थानीय तह निर्वाचनको असर चन्द्रगढी खानेपानीको चुनावमा : एमाले र राप्रपाबीच गठबन्धन, काँग्रेस एकलै चुनावी मैदानमा

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २६ गते , विहीबार
स्थानीय तह निर्वाचनको असर चन्द्रगढी खानेपानीको चुनावमा : एमाले र राप्रपाबीच गठबन्धन, काँग्रेस एकलै चुनावी मैदानमा

झापा । भद्रपुरस्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि दलहरुबीच सहमति नजुटेपछि यही असार ४ गते निर्वाचन हुँदैछ। 
नेकपा (एमाले) र राप्रपा गठबन्धनको प्रगतिशील राष्ट्रवादी साझा समूह र नेपाली काँग्रेसको प्रजातान्त्रिक समूहले छुट्टाछुट्टै प्यानल बनाएर चन्द्रगढी खानेपानीको चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने चन्द्रगढीको खानेपानीमा आफ्नो उम्मेदवार खडा गरेको छैन । भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा काँग्रेसले नेकपा (माओवादी) र नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरी अघि बढेका थिए । स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रै धोका भएको थियो । त्यसैले चन्द्रगढी खानेपानीमा ती दलहरू बीच गठबन्धन भएन । 
स्थानीय तह निर्वाचनमा तीन दलको संयुक्त गठबन्धनले नगरमा सोचे जस्तो परिणाम ल्याउन सकेन । माओवादी र एकीकृत समाजवादीका अधिकांश उम्मेदवारले पराजय बेहोर्नु परेको थियो । त्यही कारणले खानेपानीको चुनावमा काँग्रेस एकलै मैदानमा उत्रिएको जानकारहरू बताउँछन् । 
काँग्रेस र राप्रपासँग गठबन्धन गरी खानेपानीको चुनाव लड्ने एक प्रकारको लिखित सहमति नै भइसकेको काँग्रेसका नगर उपसभापति रमेशचन्द्र झाले जानकारी दिए । ‘अन्तिम समयमा आएर राप्रपाले लिखित सहमति तोडेर एमालेसँग गठबन्धन गर्यो,’ उनले भने, ‘राप्रपाले सहमति तोडेकोले अन्य दलसँग तालमेल नगरी काँग्रेस एकलै चुनावी मैदानमा उत्रियो ।’ माओवादीका नगर सहइञ्चार्ज पुकारचन्द्र राजवंशीले खानेपानी चुनावको लागि काँग्रेससँग छलफल भएको थियो । ‘काँग्रेससँग छलफल मात्र भयो,’ उनले भने, ‘त्यस्तो ठोस निर्णय केही पनि भएन, स्थानीय तह निर्वाचनमा जस्तै पार्टीका उम्मेदवारलाई उठाएर हराउनु भन्दा बाहिर बसेर नै सहयोग गर्ने निष्कर्ष पार्टीले निकाल्यो ।’ काँग्रेसले कार्यदल संयोजक तोकेका सोम ढुङ्गेलको प्रतिक्रिया पनि माओवादी जस्तै छ । 
‘स्थानीय तह निर्वाचनमा गठबन्धनले नगरमा राम्रो रिजल्ट निकाल्न नसकेको र त्यही भएर काँग्रेस नेता तथा कार्यकर्ताहरूले पनि त्यसैलाई आधार मानेर एकलै चुनाव लड्ने निर्णय लिएको हो,’ संयोजक ढुङ्गेलले भने । ‘खानेपानीको चुनाव सर्वसम्मत बनाएर अघि बढ्न काँग्रेसले नै सुरुमा पहल गर्यो,’ उनले भने, ‘त्यही पहलको क्रममा राप्रपा सहमति आयो, तर राप्रपा आफ्नो सहमतिबाट पछि हटेर एमालेसँग गएर मिल्यो ।’ 
स्थानीय तह निर्वाचनमा एमाले र राप्रपा एकला एकलै चुनावी मैदानमा उत्रिएका थिए । त्यसको फाइदा गठबन्धनलाई भएकोले एमाले र राप्रपा चन्द्रगढी खानेपानी चुनावमा गठबन्धन गर्न पुगेको एमालेका एक नेताले बताए । एमाले र राप्रपाको गठबन्धन खानेपानी मात्र नभएर भद्रपुर नगरपालिकामा पनि सहकार्य र समन्वय गरी अघि बढ्ने बुझिएको छ ।

विशेष गरी चन्द्रगढी खानेपानीमा वडा नम्बर ७ र १० का सम्पूर्ण उपभोक्ता, ८ र ९ का केही उपभोक्ता मतदाता रहेका छन् । स्थानीय निर्वाचनमा ती वडाहरू काँग्रेस भन्दा पनि एमाले र राप्रपाकै मतदाता बढी रहेको स्थानीय निर्वाचनको मतगणनाले देखाइसकेको छ । त्यही कारणले पनि एमाले र राप्रपा सहकार्य गरी अघि बढेको हुनुपर्छ ।  

दुई वटा प्यानल चुनावी मैदानमा 
नेकपा (एमाले) र राप्रपा गठबन्धनको प्रगतिशील राष्ट्रवादी साझा समूहबाट एमालेले अध्यक्ष, सचिव, चार सदस्य, लेखा समिति संयोजक र एक जना लेखा समिति सदस्य लिएका छन्, भने राप्रपाले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष, दुई सदस्य, एक जना लेखा समिति सदस्य लिएका छन् । 
अध्यक्षमा पुरुषोत्तम अधिकारी, उपाध्यक्ष बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सहसचिवमा झुमा सिवाकोटी (दाहाल) र कोषाध्यक्षमा खेमराज भट्टराईले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरूमा कृष्णप्रसाद खतिवडा, मोहन श्रेष्ठ, रामकुमार गिरी, गंगा घिमिरे (नेपाल), सुजन विष्ट (दुलाल), सुमित्रा न्यौपाने (भट्टराई)ले उम्मेदवारी दिएका छन् । त्यस्तै लेखा समिति संयोजकमा माधवप्रसाद घिमिरे, सदस्यहरूमा कृष्णबहादुर कटुवाल र निर्मल चाम्लिङले उम्मेदवारी दिएका छन् । समूहबाट अध्यक्ष पदका उम्मेदवार अधिकारी तेस्रो कार्यकालका लागि अध्यक्षमा उठेका हुन् । उनी वर्तमान अध्यक्ष पनि हुन् । 
त्यसैगरी काँग्रेसको प्रजातान्त्रिक समूहबाट अध्यक्षमा गोविन्द लम्साल, उपाध्यक्षमा उत्तम कोइराला, सचिवमा ऋषि चापागाईँ, सहसचिवमा महेन्द्र कोइराला र कोषाध्यक्षमा लावण्यकुमार पोखरेलले उम्मेदवारी दिएका छन् ।  सदस्यहरूमा राजेन्द्र तुलाधर, प्रेमप्रसाद गौतम, तारादेवी लुइँटेल (ओली), निर्मला प्रसाईँ (ओली), हरिमाया कार्की र मनेका शर्मा (दाहाल)ले उम्मेदवारी दिएका छन् । त्यस्तै लेखा समिति संयोजकमा रमेश पराजुली, सदस्यहरूमा पौर प्रसाद खतिवडा र सुशीला राजवंशीले उम्मेदवारी दिएका छन् । 
अध्यक्ष पदमा स्वतन्त्रबाट यादव भट्टराईले उम्मेदवारी दिएका छन् ।  चन्द्रगढी खानेपानीमा बिहीबार उम्मेदवारी दर्तासँगै चुनावी चहलपहल पनि बढेको छ । भद्रपुरको ४ वटा वडामा गरी करिब ३ हजार ५१७ मतदाता रहेको खानेपानीका सह(लेखापाल उत्तम पोखरेलले जानकारी दिए ।   
 

सम्बन्धित समाचार