भद्रपुर बजारमा चोरीका घटना बढ्यो, सिसी क्यामेरा बिग्रिदा प्रहरीलाई चुनौती
झापा । सीमा नाकासँग जोडिएको भद्रपुर बजारमा चोरी घटना बढेको छ । बजारमा लगाइएको सिसी टिभी क्यामेरा बिग्रिदा चोरी घटनामा संलग्न व्यक्तिलाई पहिचान गर्न भद्रपुर प्रहरीलाई चुनौती थपिएको छ ।
पछिल्लो समयमा भद्रपुर नगर क्षेत्रमा दुले चोरको बिगबिगी बढेपछि प्रहरीसँगै स्थानीय पनि चिन्तित बनेका छन् । गएराति भद्रपुर भन्सार नजिकै रहेको अनिल सहनीको किनारा पसलको अगाडिको ढोका फुटाएर चोरले पसलभित्रको गल्लाबाट नगद करिब एक लाख रुपैयाँ, रिचार्ज कार्ड र खुकुरी चुरोट लगेको छ । त्यस्तै सोही राती नै चोरले विनोद प्रधानको किराना पसलको पछाडिको ढोका फुटाएर करिब नगद २५ हजार चोरी गरेको छ । त्यसको केही दिनअघि मात्र चोरले काली मन्दिर अगाडि रहेको नागरिक मनि चेञ्जरको ढोका फुटाएको थियो । तर, चोरले चेञ्जरभित्र रहेको पैसाको बाकस फुटाउन नसक्दा रकम चोरी हुन पाएन ।
भद्रपुर बजारमै चोरीका घटना बढेकोले प्रहरी गस्ती बढाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक सन्तोषकुमार बुढाथोकीले जानकारी दिए । ‘दुले चोरको आतङ्क बढेको हो,’ उनले भने, ‘अहिलेसम्म चोर पक्राउ परेको छैन, हामीले रात्रि गस्ती बढाएका छौँ ।’ चोरीका घटना बढेकोले नगरवासी पनि सजक हुने बेला आएको बताउँदै उनले भने, ‘पसलभित्र बहुमूल्य सरसामान वा नगद रकम नराख्न सबैलाई अनुरोध गर्न चाहन्छु । चोरीका घटना भए वा कुनै व्यक्तिमा शङ्का लागेकामा तत्काल प्रहरीलाई खबर गर्न उनले अनुरोध पनि गरेका छन् ।
विद्युत् प्राधिकरणका कारण सिसी क्यामेरा बिग्रियो
प्रदेश १ सरकार, नागरिक समाज, स्थानीय सङ्घसंस्था र भद्रपुर नगरपालिकाको सहयोगमा नगर क्षेत्रमा २७ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ । बर्षौपिच्छे सिसी टिभी क्यामेरा मर्मत सम्भार गर्ने रकम प्रहरीको बजेटमा नहुँदा प्रहरीले स्थानीय सरकारसँग हारगुहार गर्नुपर्ने अवस्था आउँछ ।
केही महिना अघि मात्र नगरपालिकाको आर्थिक सहयोगमा लामो समयदेखि बन्द रहेको सिसी क्यामेरा मर्मत सम्भार गरी सञ्चालनमा आएको थियो । तर, अहिले फेरि सिसी क्यामेरा बिग्रिँदा प्रहरीलाई थप समस्या परेको छ । भद्रपुर बजारमा बिजुलीको पोल सार्ने क्रममा नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका कर्मचारीले वडा प्रहरीलाई जानकारी समेत नगराई जथाभाबी सिसी क्यामेरा खोल्नुका साथै तार समेत काटेर फालिदिएकोले समस्या उत्पन्न भएको वडाका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
प्राधिकरणका कर्मचारीले कम्तीमा प्रहरीसँग समन्वय गर्नुपर्नेमा जथाभाबी तार काटिँदा अहिले १६ वटा सिसी क्यामेरा बन्द अवस्था छ । पुनः सिसी क्यामेरा सञ्चालनमा ल्याउन नगरपालिकासँग समन्वय गर्नुपर्ने अवस्थामा आएको उनको भनाई । ‘नगरपालिकासँग समन्वय गरी चाँडै सिसी क्यामेरा सञ्चालन ल्याउने तयारी गरिरहेको छु,’ उनले भने ।