ओमानविरुद्ध नेपालको ७ विकेटको जित
आईसीसी विश्वकप लिग टु क्रिकेटमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ। टेक्ससमा मंगलबार राति मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले। आसिफले ६२ रन बनाए ।
कुशल ५६ रनमा आउट भए। यस्तै देव खनाल १० रनमा आउट भए। रोहित पौडेल २६ रनमा अविजित रहे। दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे। ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले। सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे। ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए।
यस जितसँगै नेपालको १५ खेलमा १५ अंक भएको छ। नेपाल पाँचौं स्थानमा उक्लिएको छ। ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो।