२०८३ बैशाख ४ गते , शुक्रबार

अर्थ मन्त्रालयले पठाएन बजेट, झापाका ७ वटा नदीमा तटबन्ध निर्माण कार्य रोकियो

sajilo news
पार्थ मण्डल
२०७९ असार १ गते , बुधबार
अर्थ मन्त्रालयले पठाएन बजेट, झापाका ७ वटा नदीमा तटबन्ध निर्माण कार्य रोकियो

झापा । अर्थ मन्त्रालयले बजेट नपठाउँदा झापा जिल्लाका नदी तथा खोला नियन्त्रण (तटबन्ध)को काम प्रभावित बनेको छ । बाढीबाट प्रभावित क्षेत्रको पहिचान गरी जनताको तटबन्ध कार्यक्रम झापाले गत माघदेखि जिल्लाका सात वटा नदीमा एकै पटक तटबन्धको काम सुरु गरेका थिए । 
अर्थ मन्त्रालयले तटबन्धको काम सुरु गर्नु भनी जनताको तटबन्ध कार्यक्रम झापासँग लिखित रूपमै सहमति जनाएका थिए । सोही सहमति अनुसार झापाका सात वटा नदीमा तटबन्धको काम सुरु गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताए । 
‘तर अहिले आएर अर्थ मन्त्रालयले आफैले गरेको सहमति तोड्दै एक रुपैयाँ पनि बजेट पठाएन,’ कार्यक्रम प्रमुख अधिकारीले भने, ‘तटबन्धका लागि टेन्डर प्रक्रियाबाट ठेक्का लगाएर काम धमाधम गरिरहेका थियौँ, अर्थले बजेट नपठाउँदा १६ करोड बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी देखिन्छ ।’ 
पहिलो किस्ता बापतको रकम समेत नदिएको निर्माण कम्पनीले भुक्तानीका लागि दबाब दिइरहेको बताउँदै उनले भने, ‘मनसुनअघि नै सक्नुपर्ने काम निर्माण कम्पनीहरूले अधुरै छाडेन थाले, भुक्तानी दिन नसक्दा हामीले पनि निर्माण व्यवसायीलाई दबाब दिने कुरा आउँदैन ।’ 
जिल्लाको बाढी प्रभावित तथा कटान क्षेत्रको पहिचान गरी नदीहरू तटबन्ध बनाउनु पर्ने भन्दै अर्थसँग जनताको तटबन्ध कार्यक्रम झापाले २९ करोड बजेट माग गरेको थियो । अर्थले काम सुरु गरिहाल्नु, बजेट बिस्तारै पठाउने सहमति जनाएकोमा हाल आएर बजेट रोक्दा थप समस्या उत्पन्न भएको उनको भनाई । 
झापाको मेची, देउनियाँ, तिरीङ, कनकाई, मावा, कमल र रतुवा नदीमा तटबन्धको काम भइरहेको छ । सात वटा नदीमा समग्र करिब ६ देखि ७ किलोमिटरसम्म तटबन्ध काम थालिएको छ । 

महानिर्देशकसहितको टोलीले गरे अनुगमन

जिल्लामा तटबन्धको कामको अवस्था बुझ्न जलस्रोत तथा सिचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्य, उपमहानिर्देशक कृष्णप्रसाद नेपाल, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव बाबुराम भण्डारी लगायत चार जनाको टोलीले १५ दिनअघि स्थलगत अनुगमन गरेर फर्किएका छन् । 
मन्त्रालयबाट आएको टोलीले जेठ १५ र १६ गते सात वटै नदीमा पुगेर तटबन्ध कामको प्रगति, अवस्था र थप गर्नुपर्ने अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताए । 
‘जिल्लामा भइरहेको तटबन्ध कामको उहाँहरूले प्रशंसा गर्नुभयो,’ उनले भने, ‘अर्थले बजेट नपठाउँदा कामले तीव्रता नपाउनुका साथै थप समस्या उत्पन्न भएको बारेमा उहाँलाई पनि जानकारी गराइसकेको छु ।’ ‘उहाँहरूले पनि अर्थसँग यस बारेमा बुझेर रोकिएको बजेट पठाउन मन्त्रालयबाटै पहल गर्ने आश्वासन दिनुभयो,’ उनले भने । 

बाढीको जोखिममा स्थानीय 

अघिल्लो वर्ष कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकाका स्थानीय जोखिममा परेका थिए । बाढीका कारण त्यहाँका सयौँ घरपरिवार विस्थापित नै भए । त्यही जोखिमलाई लक्षित गरी बाढी पसेको स्थानमा यस वर्ष तटबन्धको काम थालिएको छ । तर बन्दै गरेको तटबन्ध काम अधुरो रहँदा खतरा ज्युका त्युँ रहेको स्थानीय बुद्ध हेमरमले बताए । ‘गत वर्ष बेमौसमी बाढीका कारण विस्थापित बनेका बस्ती अहिले पनि जोखिममै छ,’ उनले भने, ‘बस्ती जोगाउन र कटान रोक्न नदीमा पुरै बाँध निर्माण गर्नुपर्छ ।’ गौरीगञ्ज १ टप्पु बस्ती देविगाडा क्षेत्रमा हाल तटबन्ध निर्माणाधीन अवस्था छ । तर पुरा तटबन्ध निर्माण गर्न बजेट नहुँदा समस्या भएको जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । झापामा हरेक वर्ष बाढीले क्षति पुर्याउँदै आएको छ । कतिपय क्षेत्रमा उचित व्यवस्थापन हुन नसक्दा बाढीको जोखिम त्यस्तै छ ।  यस वर्ष पनि मनसुन सुरु भइसकेको छ । खोला तथा नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । सरकारले समयमा बजेट नपठाउँदा नदी नियन्त्रणको काम सम्पन्न हुन सकेन, जसले गर्दा बाढी प्रभावित क्षेत्रका बासिन्दा चिन्तित देखिएका छन् ।   
 

सम्बन्धित समाचार