कचनकवलमा यो वर्ष सर्पदंशबाट मृत्यु शून्य, २४५ को सफल उपचार
झापा । दक्षिणी झापाको कचनकवलमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रले एक वर्षमा २४५ जनाको सफल उपचार गराएको छ। दक्षिणी भेगमा सर्पदंशको उपचार केन्द्र नहुँदा त्यहाँका मानिसले अकालमै ज्यान गुमाउँदै आएका थिए।
स्थानीय तथा विद्यार्थीको दबाबपछि कचनकवल गाउँपालिकाले २०७८ असार ३ गते कचनकवल– ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र सर्पदंशको उपचार केन्द्र सञ्चालनमा ल्याएको हो। केन्द्रले एक वर्षमा १४१ महिला र १०४ पुरुष गरी २४५ जनाको सफल उपचार गराएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले जानकारी दिए।
बर्खा लागेसँगै कचनकवलमा विषालु सर्पको बिगबिगी बढ्छ। जसकारण बर्सेनि यहाँका मानिसले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाउँदै आएको बताउँदै उनले भने, ‘सर्पदंश उपचार केन्द्र स्थापना भएपछि एक वर्षमा कसैले पनि ज्यान गुमाउनु परेन, ६ वटा जटिल केस आउँदा पनि ती बिरामीलाई सफल उपचार गराई घर फर्काएका छौँ।’
केन्द्रमा कचनकवलबासीसहित छिमेकी पालिका भद्रपुर, बाह्रदशी, छिमेकी राष्ट्र भारत विहारका विभिन्न स्थानबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उनको भनाई छ। यसअघि सर्पदंशका बिरामीहरुलाई मेचीनगरस्थित चाराअली सर्पदंश उपचार केन्द्र लागि लैजानु पर्ने बाध्यता थियो।
यता केन्द्र स्थापना भएको पहिलो वार्षिक उत्सवको अवसरमा शुक्रबार सर्पदंश उपचार सेवा खटिने दुई जना प्राविधिक स्वास्थ्य कर्मचारीलाई सम्मान गरिएको छ। उपचार सेवामा खटिने हृदयनारायण शाह र मोहम्मद नवाज नुरीलाई सम्मान गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख यादवको अध्यक्षता तथा कचनकवल ६ नम्बर वडा अध्यक्ष चिन्तामणि खरेलको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा ६ नम्बरका निवर्तमान वडा अध्यक्ष कुलबहादुर कार्की, इलाका प्रहरी कार्यालय बनियानीका वरिष्ठ प्रहरी नायब निरीक्षक नरबहादुर तुम्बाहाम्फे, नेपाली काँग्रेस प्रदेश ९क०का सभापति दिलबहादुर कार्की लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक रत्नकुमार बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै उनीहरूले सर्पदंश उपचार केन्द्रलाई अलग्गै भवनको प्रबन्ध गरी भेन्टिलेटर सहितको सुविधा थपेर देशकै नमुना बनाउनु पर्नेमा जोड दिए ।
