२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा (हेरौं तस्बिरमा)

sajilo news
पार्थ मण्डल
२०७९ असार १४ गते , मंगलबार
झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा (हेरौं तस्बिरमा)

झापा । जब घर–आँगनमा पानी पस्छ, त्यही बेला डुबानमा परेका पीडित स्थानीयको चेत खुल्छ । अनि हारगुहार गर्न थाल्छन्– ‘घर आँगनमा पानी पस्यो कसैले हाम्रो समस्या सुनिदिएन’ । अनि गाली गर्छन् आफैले भोट दिएर जिताएका जनप्रतिनिधिलाई । उनीहरूको आक्रोश राजनीतिक दलका नेता र स्थानीय पालिकामाथि पनि त्यतिकै छ । 
पूर्व तयारीसँगै दीर्घकालीन समस्या समाधानमा खासै चासो देखाएका जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू पनि यस्तो विपद्मा गरुन् त के गरुन् ? उनीहरू पनि हुल बाँधेर डुबान र जलमग्नमा परेका पीडितहरूको घर–आँगन पुग्छन् । स्थलगत अनुगमन गर्छन् । पीडितहरूलाई आश्वासन बाँड्छन् । राहत पनि दिन्छन् । अनि आज ठुलो काम गर्यो भनेर जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू छाती फुलाएर हिडँछन् । अनि पीडामा परेका स्थानीय घर आँगनको तस्बिर सामाजिक सञ्जालमा हाल्छन् । जब मनसुन सकिन्छ । डुबान र जलमग्नमा परेका पीडित स्थानीयसँगै जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरू सबै त्यो दिनको पीडा बिर्सिन्छन् । अनि पुरानै कार्य व्यस्ततामा फर्किन्छन् । अनि इन्तिजार गर्छन् अर्को मनसुनको । हरेक मनसुनमा यस्तै गतिविधिले निरन्तरता पाइरहेको छ । 


मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाका कारण झापाका अधिकांश पालिका डुबान र जलमग्न बनेको छ । अहिले जतात्यतै डुबानमा परेका पीडित र स्थानीयहरूको कुरा पनि माथि उल्लेखित भनाइमा ठ्याक्कै मेल खान्छ । स्थानीय सरकारले डुबान तथा जलमग्न हुने स्थानको पहिचान गरी समयमै बजेट विनियोजन गरी तटबन्ध र ढल निकासको काम गरिदिए यस्ता समस्या समाधान हुनेमा अधिकांश स्थानीयहरूको एउटै भनाई छ । 
यता डुबान र जलमग्नका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । स्थानीय सरकारले सडक ढल निकासको उचित व्यवस्थापन, पैनी तथा खोलामा तटबन्ध नगर्दा स्थानीय जोखिम मोलेर बस्न बाध्य छन् । 
बाढी पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे, आसपास भारी वर्षा मापन गरेको छ । अहिले पनि झापामा भारी वर्षा भइरहेको छ । पैनी तथा खोलाको पानी घर आँगनमा पस्दा सदरमुकाम भद्रपुरका अधिकांश वडाहरू जलमग्न बनेको छ । भद्रपुर ८ मा २५ घर विस्थापित भएको छ । भद्रपुर ३, ४, ५ र ६ मा सयौँ घर डुबानमा परेको छ । मेची नदीमा पानीको बहाव बढिरहेकोले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले जानकारी दिए । देवीबस्ती, मेची किनार, बसपार्क, भानु चोक आसपासका दर्जनौँ घर जलमग्न भएको उनले बताए । 
त्यस्तै गौरदाह ६ स्थित टंगुवा बस्तीमा २५ घर डुबानमा परेको छ । घर आँगनमा २ फिटसम्म पानी जमेपछि उनीहरूलाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरुप्रसाद तिम्सिनाले जानकारी दिए । मकलडुब्बा खोलाको पानी शिवसताक्षी ६ स्थित शिवगञ्जमा पस्दा जबरजंग दर्जी र मानबहादुर दर्जी, सञ्जय मल्लिक घर डुबानमा परेको छ । गौरीगञ्ज १ मा बनियानी खोलाले रणमाया लिम्बुको घर डुबानमा परेको छ । गौरीगञ्ज १ माई खोलाको पानी पस्दा बाकुबाँडीमा १५, देविगाडामा ५ र टापु बस्तीमा १२ घर डुबानमा परेको इन्स्पेक्टर तिम्सिनाले जानकारी दिए । गौरादहमा ६ मा रतुवा खोला पसेर तेलिया डाँगी टापुमा परिणत भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । उनका अनुसार शिवसताक्षी ३ र ५, कमल १ मा कमल र बनियानी खोला पसेको छ । शिवसताक्षीमा ६ मा ४० घर डुबानमा परेको छ । झापा १ मिलनबस्तीमा ९० घरमा पानी पसेको सभापति ढकालले जानकारी दिए । 
जिल्लाको मेची, निन्दा, विरीङ, कनकाई, मावा, अदुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रामा पानी बहाव बढिरहेकोले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रुपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।  
 

सम्बन्धित समाचार