भद्रपुर–गलगलिया सीमा नाकामा फेरि कडाइ, तस्करको रिस आम जनतामाथि पोख्दै एसएसबी
झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाकामा तैनाथ भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले फेरि कडाइ सुरु गरेको छ । भारतीय एसएसबीको कडाइले किनमेलका भारतीय सीमा बजार पुग्ने नेपाली नागरिकले सास्ती झेल्नु परेको छ । भारतीय बजारबाट नेपाली नागरिकले घरायसी प्रयोजनका लागि कम्तीमा पाँच किलो खाद्यान्न सामग्रीहरू खरिद ल्याएका हुन्छ ।
तर, एसएसबीले पाँच किलो खाद्यान्न सामग्री नेपाल लैजान पाइँदैन भन्दै फर्काउन थालेका छन् । त्यति मात्र नभएर एसएसबीले परिचयपत्र नबोकेका नागरिकलाई समेत सीमामै रोक लगाउन थालेका छन् । नेपाल– भारतबीच रोटी बेटीको सम्बन्ध छ भनेर बेला बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण दिँदै आएपनि व्यवहारमा भने त्यो अझै लागू हुन सकेको छैन।
भद्रपुर–गलगलिया नाकामा एसएसबी ४१ बटालियनको टोली परिचालन गरिएको छ । सो टोलीको कमान्डर नीलमणि कुमार रहेका छन् । उनको कमान्डमा नयाँ टोली १५ दिनअघि जिम्मेवारी लिएर गलगलिया नाका आएका हुन् । केही दिन अघिसम्म सामान्य थियो, त्यस्तो केही रोकटोक थिएन,’ स्थानीय भोला राजवंशीले भने, ‘दुई/चार दिन देखि एसएसबीले नाकामा कडाइ सुरु गर्यो, पाँच किलोभन्दा बढी खाद्यान्न सामग्री ल्याउँदा लैजान नपाइने भन्दै फर्काउन थाल्यो ।’
नेपाली बजार भन्दा भारतमा खाद्यान्न सामग्री सस्तो पाइने भएकोले दैनिक सयौँ नेपाली नागरिक गलगलिया बजार जाने गरेका छन् । पूर्व जानकारी बिनै एसएसबीले यसरी सीमामा दुःख दिन थालेकोप्रति आक्रोश पोख्दै कुवेर पौडेलले भने, ‘एसएसबीको मनपरी बढ्न थालेको छ, केही भन्न खोज्दा उल्टै हप्काएर फिर्ता पठाइदिन्छ, सीमा भारतीय पक्षको ज्यादती कहिलेसम्म नेपाली जनताले भोग्नुपर्ने हो ।’ ‘बरु सीमामा काँडा तार लगाएर सधैँका लागि बन्द नै गरिदिए समस्या समाधान हुन्थ्यो,’ उनले भने ।
तस्करको रिस आम जनतामाथि पोख्दै एसएसबी
भद्रपुर– गलगलिया सीमा नाकामा लाइनमेन (वारिपारिको काम गर्ने तस्कर) ले सेटिङ्ग मिलाएर सरसामान भित्राउँदै आइरहेको छ । भन्सार कडाइले गर्दा लाइनमेनहरुले सीमा तैनाथ दुवै देशका सुरक्षाकर्मीलाई सेटिङ्ग मिलाउने र समय अनुकूल मिलाएर सरसामान नेपाल भित्राउँदै आइरहेको छ । त्यसमध्ये केही लाइनमेनले एसएसबीलाई सेटिङ्ग नमिलाएर रातको समयमा सरसामान नेपाल भित्राउन खोज्दा दुवै पक्षबीच घम्साघम्सी भएको थियो । यो घटना हो बिहीबार रातीको । एउटा समूहले एसएसबीलाई मिलाएर सामान (लत्ताकपडा) नेपाल छिराएपछि अर्को समूहले पनि सामान जबरजस्ती छिराउन खोज्दा एसएसबीले उनीहरूको एक झोला सामान समात्यो ।
सामान समातेको निहुँमा ती समूहले एसएसबीमाथि ढुङ्गा प्रहार गरेका थिए । यस्तो घटना प्रायः भद्रपुर नाकामा भइरहन्छ । सेटिङ्ग मिलेपछि जब ठिक, कसैलाई थाहा पनि हुँदैन, मिलेन भने लाइनमेन र एसएसबीबीच सुरु हुन्छ सीमामा द्वन्द्व । एसएसबी मात्र नभई नेपालका सुरक्षाकर्मीसँग पनि यस्तै भइरहन्छ ।
यता व्यापारी स्रोतका अनुसार एसएसबीमाथि ढुङ्गा प्रहार गरेको भोलिपल्ट देखि नै सीमा नाकामा एसएसबीले सर्वसाधारण जनतामाथि कडाइ सुरु गरेको हो । त्यो घटना हुन भन्दाअघि सीमामा त्यस्तो केही कडाइ थिएन । एसएसबीले त्यो दिनको घटनाको रिस नेपाली आम जनतामाथि पोखेको हो ।