मेचीनगरको बजेट ‘कर्मचारी उकास्ने’
मेचीनगर नगरपालिकाले बिहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ । उपप्रमुख मिना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ ।
जस अन्तर्गत कर्मचारीको पारिश्रमिकमा ५ करोड ६० लाख, करार सेवामा कार्यरत कर्मचारीको तलब बापत ५ करोड ५० लाख, कर्मचारी पोसाकमा ३० लाख, औषधी उपचार खर्च ५ लाख, महँगी भत्ता २५ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कार ३ लाख, कर्मचारी कल्याण कोषमा २ करोड ७० लाख, कर्मचारी इन्धन ३० लाख र कर्मचारी भ्रमण खर्च बापत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ मात्रै कुल २१ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीलाई सेवा सुविधा दिने कुरामा मेचीनगर उदार देखिएको छ । तर, अन्य शीर्षकमा भने विगत भन्दा घटाएर बजेट विनियोजन गरिएको छ ।