२०८३ बैशाख ३ गते , विहीबार

अनुदानमा दिएको दुईवटा ड्रायर मेशिन बिग्रिएर थन्कियो, जिम्मा कृषि ज्ञान केन्द्रले लिनुपर्ने

sajilo news
झापा
२०७९ असार २९ गते , बुधबार
अनुदानमा दिएको दुईवटा ड्रायर मेशिन बिग्रिएर थन्कियो, जिम्मा कृषि ज्ञान केन्द्रले लिनुपर्ने

प्राविधिक ज्ञानबिना खरिद गरेर सहकारी संस्थालाई अनुदान सहयोगमा दिएको ड्रायर मेशिन बिग्रिएर थन्किएपछि त्यसको जिम्मेवारी कृषि ज्ञान केन्द्र झापाले लिनुपर्ने भएको छ । कृषि ज्ञान केन्द्रले नै खरिद गरेर अनुदान सहयोगमा झापा गाउँपालिकाका सहकारी संस्थालाई दुईवटा ड्रायर मेशिन दिएको थियो । दक्ष प्राविधिक नहुँदा ती दुवै मेशिन बिग्रिएर थन्किएको हो । झापा गाउँपालिकाभित्र रहेका कुमरखोद साना किसान कृषि सहकारी र मारसाल कृषि सहकारी संस्थाले गत वर्ष सँगै दुईवटा ड्रायर मेशिन ल्याएका थिए । किसानले लगाएको धान , मकै र गहुँ सुकाउनको लागि ड्रायर मेशिन खरिद गरेर ल्याएता पनि दक्ष जनशक्तिको अभावमा चलाउन नसकेर थन्केको हो ।

त्यसबाट सहकारीहरूले एक वर्षसम्म कुनै आम्दानी लिन सकेका छैनन्। आफूहरूले पचास प्रतिशत अनुदान सहयोगमा दिएको दुई वटै ड्रायर मेशिन बिग्रिएर थन्किएको जानकारी पाएपछि त्यसप्रति ध्यानाकर्षण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । ‘हामी त्यसबारे साउनको पहिलो साता सबै पक्षलाई राखेर छलफल गर्छौ ’उनले भने,‘मेशिन बिक्री गर्ने कम्पनीलाई पनि चिठी पत्र काटेर बोलाउँछौँ । ’

दुवै संस्थाको ड्रायर मेशिन उपयोग नहुँदा कृषि ज्ञान केन्द्रको १७ लाख ५० हजार र सहकारी संस्थाको पनि १७ लाख ५० हजार रकम खेर जाने भएको छ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको पहलमा आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र भद्रपुरबाट ५० प्रतिशत अनुदानमा दुवै कृषि सहकारीले ड्रायर मेशिन प्राप्त गरेका थिए । उक्त ड्रायर मेशिनको बजार मूल्य १७ लाख ६५ हजार रुपैयाँ रहेको छ । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै कृषि सहकारीलाई २ लाखका दरले सहयोग गरेको थियो । त्यसैगरी एस।एन जेडी संस्था बिर्तामोडले आर्थिक अवस्था कमजोर भएको मारसाल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको मार्सल कृषि सहकारी संस्थाका अध्यक्ष रघु टुडुले बताए ।

दुवै संस्थाले उक्त ड्रायर मेसिन किसानहरूको काममा सहयोग होस् भन्ने उद्देश्यले खरिद गरेका थिए । तर, दक्ष प्राविधिक नहुँदा सिकारुको भरमा मेशिन चलाउँदा बारम्बार बिग्रिरहने भएपछि मेशिन चलाउन नसकिएको मारसाल कृषि सहकारी संस्थाकी व्यवस्थापक राप्ती राजवंशीले बताइन् ।यसरी कृषि ज्ञान केन्द्रले दिएको लाखौँको मेशिन बिग्रिएपछि धेरैले आलोचना गरेका छन् ।

कृषि ज्ञान केन्द्रले पनि प्रविधिको विकास गर्न खोज्दा त्यसको सम्भावना कस्तो छ, सफल हुन्छ कि हुँदैन त्यसको लेखाजोखा नगरी सिफारिस गर्दा त्यसले सहकारीहरू मारमा परेको भन्दै अब यसको जिम्मा ज्ञान केन्द्रले लिनुपर्ने कुमार चुँडाल बताउँछन् । उनले अब यसको समाधानको उपाय नखोजे सहकारीहरू यो मेसिन कवाडीमा बेच्ने स्थितिमा पुगेको उनले बताए । त्यस्तै दीपेश शर्मा बिनायोजनाको कार्यशैली र राम्रो व्यवस्थापन अभावमा गरिएको लगानीको यो नतिजा भएको बताउँछन् । अब किलोको हिसाबले बेच्नुपर्ने अवस्थामा लाखौँको लगानी सत्यनास हुँदा त्यसको जिम्मेवारी ज्ञान केन्द्रले लिनुपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार