कोलकातामा हुने सुन्तला महोत्सवको बारे काँकडभिट्टामा छलफल
आगामी डिसेम्बरको दोस्रो साता कोलकातामा हुने सुन्तला महोत्सव र नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार काँकडभिट्टामा वृहत् छलफल भएको छ ।
छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि भारतका राज बसु र नेपालबाट अर्जुनकुमार कार्कीको संयोजकत्वमा नयाँ समिति बनाउने निर्णय गरेको छ ।बसु भारतमा ग्रामीण पर्यटनका गान्धीको रुपमा परिचित छन् भने कार्की पर्यटन अभियन्ता र मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष समेत हुन् । आगामी अगस्ट ६ तारिख सिलीगुडीमा हुने बैठकले ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि समिति बन्ने कार्कीले बताए ।
भारतसँग प्रदेश नम्बर १ कालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले काँकडभिट्टामा नेपाल–भारतका सरोकारवालासँग वृहत् छलफल आयोजना गरिएको कार्कीको भनाई छ । छलफलमा दुई देशका अधिकांश वक्ताहरूले पर्यटन प्रवर्धनमा जोड दिएका थिए ।
छलफलमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, संविधान सभा सदस्य रविन कोइराला, प्रज्ञा सभा सदस्य सुभद्रा भट्टराई, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख प्रभात भट्टराई, पर्यटन अभियन्ताहरू भविश्वार श्रेष्ठ, विनोद गुरुङ, एकराज घिमिरे, देवेन्द्र खरेल, वासुदेव खड्का, उदयकुमार श्रेष्ठ, डिएसपी ज्ञानकुमार महतो तथा भारतका पर्यटन अभियन्ता राज बसु, कल्याण राई लगायतले पर्यटन प्रवर्धन गर्न सके दुई देशलाई फाइदा पुग्ने विषयमा चर्चा गरेका थिए । त्यसका लागि दुवै देशका अभियान्ताहरुले एक अर्कामा सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
छलफलमा पर्यटन, ट्राभल्स, होमस्टे, नौमती बाजा बजाउने महिलाहरू, चित्रकार, परिवर्तन थिएटरका कलाकार, देवकोटा पार्कका प्रतिनिधि, ग्रामीण क्षेत्रका उद्योगी–व्यापारी लगायत सञ्चारकर्मीहरूको पनि बाक्लो सहभागिता रहेको थियो ।