भद्रपुरका मारवाडी महिलाले मनाए तीज 'सीन्धारा'
भद्रपुर । आउँदै गरेको हरितालिका तीज पर्वको अवसरमा भद्रपुरका मारवाडी समुदायका महिलाले सामूहिक तीज 'सीन्धारा' मनाएका छन् । भद्रपुर मारवाडी महिला मञ्च तथा युवती मञ्चको संयुक्त आयोजनामा शनिवार साँझ भद्रपुर- ६ स्थित सिटी गार्डेन होटेलमा विविध कार्यक्रमका साथ तीज मनाएका हुन् ।
भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निकी साहेवालाको अध्यक्षता तथा नेपाल मारवाडी महिला मञ्चकी केन्द्रीय अध्यक्ष निर्मला जोशीको प्रमुख आतिथ्य भएको कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, इनर व्हील क्लब अफ भद्रपुरकी अध्यक्ष कुसुम अधिकारी (पराजुली) लगायतको उपस्थिति रहेको थियो ।

संघकी अध्यक्ष साहेवालाले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा मारवाडी महिलाहरूले सामूहिक, एकल नृत्य तथा गीत, नाटक प्रस्तुत गरेका थिए । साथै मञ्चले भद्रपुर ५ स्थित लक्ष्मी नारायण मन्दिरलाई एक थान रुईको बत्ती बनाउने मेशिन समेत हस्तान्तरण गरेको छ ।
आउँदो महिनाको भदौ १४ गते हरितालिका तीज पर्व हो । यता सोही अवसरमा भद्रपुर मारवाडी महिला मञ्चको अध्यक्षमा प्रीति मित्तल चयन भएकी छिन् । त्यस्तै मञ्चकी उपाध्यक्षद्वय सुनिता कोठारी, अनिता शर्मा, सचिव निलम गोयल चयन भएकी छिन् ।
