दमकमा श्रीकृष्ण रथ यात्रा निकाल्ने तयारी
दमक । आगामी भदौ ४ गते श्री कृष्ण जन्माष्टमीको भोलि पल्ट दमकमा निकालिने रथ यात्राको लागी ८० प्रतिशत तयारी सकिएको आयोजक समितिले जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गर्दै विगतका दुई वर्ष कोरोना संक्रमण जोखिमका कारण रोकिएको रथ यात्रा यस वर्ष भव्य रुपमा निकाल्ने तयारी गरिएको जनाएको हो ।
रथ यात्रा प्रचार समिति संयोजक गिरिराज भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रथ यात्राको लागी तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष रोहित आचार्यले जानकारी दिए ।
रथ यात्रालाई भव्य बनाउन विभिन्न ३१ वटा उप समिति गठन गरी ती समितिहरूले आ आफ्नो जिम्मेवारी सुरु गरिसकेको उनले बताए । दमकको रथयात्रामा सबै समुदाय सहभागिता बनाउन पत्राचारको काम सकिन लागेको भन्दै प्रचार प्रसार समेत भइरहेको समितिका सचिव प्रेम भट्टराईले जानकारी दिए । रथ यात्रामा सबै दमकवासीको अपनत्व बनाउँदै पूर्वकै नमुनाको रुपमा सञ्चालन गर्ने गरी काम गरिएको उनले बताए।