श्रीकृष्ण जन्माष्टमी : भद्रपुरमा भक्तजनहरूको घुइँचो (हेरौं तस्बिरमा)
श्रीकृष्ण जन्माष्टमीका दिन सदा झैँ यसबर्ष पनि भद्रपुरमा भक्तजनहरूको घुइँचो लागेको छ । कोरोना महामारीका कारण दुई वर्ष श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइएन ।
यसबर्ष भद्रपुर- ५ स्थित लक्ष्मी नारायण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको भव्य आयोजना गरेसँगै भद्रपुर बजारमा शुक्रबार साँझ भक्तजनहरूको भीड लागेको थियो । लक्ष्मी नारायण मन्दिर परिसरमा स्थानीय बालबालिका श्रीकृष्णसहित विभिन्न देवीदेवताको भेसभुसामा सजिएका थिए । भक्तजनहरूले मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधनासँगै सजिएका बालबालिकाहरूको अवलोकन समेत गरेका थिए ।
साथै स्थानीय नेवार समुदायले निकालेको लाखे नाचले झन् भक्तजनहरूको आकर्षित तुल्याएका थिए । त्यस्तै भद्रपुर- ६ स्थित कृष्ण मन्दिरमा पनि भक्तजनहरूको भीड त्यतिकै थियो । तर, मन्दिर व्यवस्थापन समितिले श्रीकृष्ण पर्वतर्फ खासै चासो नदेखाउँदा मन्दिरको बाहिर क्षेत्र अन्धकारमय बनेको थियो । जसले गर्दा भक्तजनहरूलाई समस्या परेको थियो । आजको दिन विशेष गरी महिला व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न हुने धार्मिक विश्वास रहेको छ ।









