२०८३ बैशाख १२ गते , शनिबार

श्रीकृष्ण रथयात्रा आज, झापाका तीन पालिकामा निकालिँदै

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र ४ गते , शनिबार
श्रीकृष्ण रथयात्रा आज, झापाका तीन पालिकामा निकालिँदै

झापा । झापाका तीन पालिकामा (कोभिड–१९) कोरोना भाइरस महामारीले दुई वर्षदेखि रोकिएको श्रीकृष्ण रथयात्रा यसबर्ष हर्सोउल्लासका साथ निकाल्ने तयारी लगभग पूरा भएको छ । 
धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक र गौरीगञ्जमा आज शनिवारका दिन श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी छ ।
जिल्लाको सदरमुकाम भद्रपुरमा १९ औँ भगवान् श्री कृष्ण रथयात्रा भव्य उत्सवको रूपमा मनाउन श्रीकृष्ण रथयात्रा मूल आयोजक समिति लागि परेको समितिका अध्यक्ष देवु घिमिरेले जानकारी दिए । रथयात्रा नगरको पहिचान र गौरव बन्दै गएको उनले बताए । 
‘कोरोना महामारीले दुई वर्ष रथ निकाल्न पाएनौँ,’ उनले भने, ‘यसबर्ष भव्य रुपमा मनाउन लागेका छौँ, यस धार्मिक कार्यक्रममा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छु ।’ २०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएको थियो । तीन वर्षअघि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पाङ्ग्रासहित फलामले रथ बनाइदिएको छ । त्यही रथलाई पुनः रंगरोगण र फुलमालाले सजावट गर्ने तयारीमा रहेको उनले बताए । खर्च व्यवस्थापन नगरपालिका र दाताहरूबाट संकलन गरिने उनको भनाई छ । 
भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट शुभारम्भ हुने रथयात्रा आपगाँछी, ज्ञानेचोक, झापाचोक, संगमचोक, सगरमाथा चोक, गार्मेन्ट चोक, लेखनाथ चोक, चैतुमन्दिर, धनुषमोड, चन्द्रगढी बजार हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन हुने छ । 
रथयात्रामा विभिन्न झाँकी, लाखे नाच प्रदर्शन गर्नुका साथै बालबालिकाहरू विभिन्न देवीदेवतामा भेसभुसामा सजाइने छ  । 
त्यस्तै दमक नगरपालिकामा छैटौँ श्रीकृष्ण रथयात्रा भव्य रूपमा मनाउने मूल आयोजक समिति लागि परेको समितिका अध्यक्ष रोहित आचार्यले जानकारी दिए । दमकमा पनि कोरोना महामारीले दुई वर्ष रथयात्रा स्थगन गरिएको उनको भनाई छ । दमकको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुन सोही मन्दिरमा गएर समापन गर्ने कार्यक्रम रहेको छ । रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिनेछ । 
उता गौरीगञ्ज गाउँपालिकामा दोस्रो पटक रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको तयारीमा जुटेको छ । 
पहिलो वर्ष गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । नयाँ रथ बनाइसकेको समितिले यस वर्ष पनि खजुरगाछीको राधाकृष्ण मन्दिरदेखि सुरु गर्ने रथ यात्रा गौरीगंज बजार परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने समितिका अध्यक्ष मुकेश साहले जानकारी दिए ।

सम्बन्धित समाचार