२०८३ बैशाख ३ गते , विहीबार

कचनकवलको सर्पदंश उपचार केन्द्रमा छैन भेन्टिलेटर, सर्पले डस्दा एक जनाको अकालमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७९ भाद्र ५ गते , आईतबार
कचनकवलको सर्पदंश उपचार केन्द्रमा छैन भेन्टिलेटर, सर्पले डस्दा एक जनाको अकालमै मृत्यु

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा करिब १४ महिनाअघि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर सेवा जडान नहुँदा एक जना बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । 
कचनकवल गाउँपालिका–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय  नेहरुलाल टुडुलाई शनिवार बिहान ५ बजे किङ कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो । 
आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडुलाई सर्पले खुट्टामा डसेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । 
सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंशको उपचार केन्द्र बनियानी लगिएको थियो ।  समयमै उपचार केन्द्र पु¥याउन नसक्दा उनको शरीरभरि विष फैलिसकेकोले भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने अवस्था आयो । 
तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो । उनलाई उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए । 
‘बिरामीलाई बिहान करिब ५ बजे सर्पले डसेको थियो, उहाँलाई झन्डै डेढ घण्टापछि उपचार केन्द्र लिएर आयो,’ उपचार केन्द्रका अहेव हृदय नारायण साहले भने, ‘उहाँलाई किङ कोब्राले डसेको रहेछ, कोब्राको विष शरीरमा छिट्टो फैलिन्छ, भेनम दिँदा पनि उहाँको स्वास्थ्यमा केही सुधार आएन ।’ ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने अवस्था आयो, तर केन्द्रमा चिकित्सकसहितको भेन्टिलेटर सुविधा नहुँदा उहाँलाई अन्यत्र पठाउनु प¥यो,’ अहेव साहले भने । 
बिरामीलाई किन ढिलो ल्याइयो भनेर छरछिमेकलाई बुझ्दा सर्पले डस्दा उहाँको घरमा कोही थिएन । ‘श्रीमती कामले बाहिर जानु भएको रहेछ,’ उहाँ एक किलोमिटर जति हिडनु भयो,’ उनले भने, ‘सर्पले डस्दा हिनडुल गर्नु हुँदैन, ३० मिनेटभित्र उपचार केन्द्रमा ल्याई सक्नुपर्ने हुन्छ, तर उहाँले त्यसो केही गर्नु भएन, जस कारण उहाँको अकालमै मृत्यु भयो ।’ उपचार केन्द्रले पहिलो पटक बिरामी बचाउन असफल भएको दुखेसो पोख्दै उनले भने, ‘भेन्टिलेटर हुँदा उहाँलाई बचाउन सकिन्थ्यो होला ।’ भेन्टिलेटर नहुँदा अहिलेसम्म दुई जना बिरामीलाई अन्यत्र रेफर गरेको उनको भनाई छ ।   
स्थानीयको चर्को विरोध र आन्दोलनपछि गाउँपालिकाले २०७८ साल असार ३ गते कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र सर्पदंशको उपचार केन्द्र सञ्चालनमा आएको हो । 
सर्प दंशका बिरामीको सेवा सुविधालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सहयोगी संस्था सेवा क्यानडा र पोखराका सामाजिक संस्था यूथ फर सेवाले २०७८ भदौमा एउटा भेन्टिलेटर, डिजिटल एक्स–रे, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 
दाताले दिएको सो स्वास्थ्य उपकरण प्राथमिक स्वास्थ्य केन्द्रभित्र थन्काएर राखिएको छ । 
दाताले दिएको भेन्टिलेटर, बेड, एसी र दुई जना अहेवको तालिमका लागि लिखित रूपमै बजेट माग गरे पनि गाउँपालिकाबाट हालसम्म सम्बोधन नभएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । 
‘स्वास्थ्य शाखाले ७ देखि ८ लाख रुपैयाँ बजेट गाउँपालिकासँग माग गरेको हो,’ शाखा प्रमुख यादवले भने, ‘कार्यपालिका बैठकमा निर्णय हुने र फाइल थन्काउने काम मात्र अहिलेसम्म चलिरह्यो ।’ ‘बजेट छैन भन्दै निर्णय कार्यान्वयनका लागि विगतको स्थानीय सरकारले खासै चासो देखाएन,’ उनले भने, ‘अहिले निर्वाचित भएर आएका जनप्रतिनिधिले यसलाई पूरा गर्नुहुन्छ भन्ने विश्वास छ ।’ 
स्वास्थ्य शाखाले तीन दिन अघि मात्र भेन्टिलेटर जडानसहितको आवश्यक बजेट मागको लागि पुनः प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई फाइल पेस गरेको उनले बताए । ‘तीन दिन अघि फाइल पेस गरेको आजै भेन्टिलेटर नहुँदा घटना घट्यो,’ उनले थपे । उपचार केन्द्रले १४ महिनाको अवधिमा ३३९ जना सर्पदशंका बिरामीको सफल उपचार गराएको छ ।  


 

सम्बन्धित समाचार