हाउजीमा धाँधली गरेको भन्दै भद्रपुरको मेलामा दुई पक्षबीच कुटाकुट, दुई घाइते, अनुमति खारेज
जिल्ला प्रशासन कार्यालय झापाले दिएको स्वीकृत पत्रको समेत नीति नियमलाई लत्त्याउँदै भद्रपुरमा सञ्चालित रमाइलो मेलामा दुई पक्षबीच कुटाकुट भएको छ ।
मेलामा सोमबार राती खेलाएको हाउजी (बिङ्गो तम्बोला)मा धाँधली भएको भन्दै विवाद बढेपछि आयोजक समिति र सर्वधारणबीच कुटाकुट भएको हो ।
आयोजकको कुटपिटबाट दुई जना युवक घाइते भएका छन् । घाइते हुनेहरूमा भद्रपुर– ६ निवासी सुरेश माझी र भद्रपुर– ४ निवासी आकाश राजवंशी रहेको प्रहरीले जनाएको छ । उनीहरूको अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो । घाइतेहरू मेची अस्पताल भद्रपुरमा उपचार गराई घर फर्किसकेको जनाइएको छ ।
घटना विवरण अनुसार मेला आयोजक समिति भद्रपुर युवा परिवारले सोमबार बेलुका खेलाइएको हाउजीको प्रथम पुरस्कार स्कुटर राखेका थिए ।
हाउजी खेल गएका सर्वसाधारणले प्रति टिकट ७ सय रुपैयाँ खरिद गरेका थिए । हाउजी खेला हुँदै गएपछि एक जना हाउस फुल परेको भन्दै स्कुटर दाबी गर्दै स्टेजमा पुगेका थिए । आयोजक समितिले उनको टिकटमा हास फुल परेको भन्दै घोषणा नै गरिदियो ।
त्यसपछि केही युवाहरू स्टेजमा चढेर टिकट सही हो वा गलत, त्यसमा हाउस फुल परेको हो वा होइन भन्दै बुझ्न गएका थिए । तर, आयोजक समितिले टिकट देखाउन मानेनन् । टिकट लिएर गएका व्यक्ति पनि त्यहाँबाट हतपत भागे । त्यसपछि सुरु भयो मेलामा बबाल । त्यसे बला रातीको साढे ११ बज्दै थियो । आक्रोशित बनेका सर्वसाधारणले अन्धाधुन्ध स्टेजमाथि टेबल कुर्सीहरू तोडफोड गर्न थाले । अनि सर्वसाधारण र आयोजक समितिबीच कुटाकुट भयो ।
आयोजक समितिले सर्वसाधारणलाई खेदाइखेदाई कुटेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मेलामा परिचालित वडा प्रहरी प्रहरी भद्रपुरको टोली पनि हुलदङ्गा देखेर निरीह बन्यो । त्यसपछि मेलाको हुलदङ्गा रोक्न जिल्ला प्रहरी कार्यालय झापाबाट थप टोली मगाएर सबैलाई त्यहाँबाट भगाएको प्रत्यक्षदर्शी बताउँछन् ।
मेलामा खेलाइएको हाउजी आयोजक समितिले सेटिङमा खेलाएको स्थानीय भीमासिंह राजपूतले आरोप लगाएका छन् । ‘पङ्कज भन्ने व्यक्तिलाई हाउफुल परेपछि हामी बुझ्न गएका थियौँ,’ उनले भने, ‘तर हामीलाई टिकट समेत हेर्न दिइएन ।’ टिकट लगेर गएको व्यक्ति पनि त्यहाँबाट भागी हाले । ‘बुझे अनुसार टिकटमा छाप पनि थिएन, त्यो टिकट आयोजक समितिले फ्रीमा बाँडेको थियो, त्यसैमा हाउफुल पारियो,’ उनले थपे । यसभन्दा अघि पनि आयोजक समितिले आफ्नो मान्छेहरूलाई फ्रीमा टिकट बाँड्दै आएको थियो । त्यही टिकटमै हाउ फुल अर्थात् पहिले पुरस्कार पारिन्थ्यो र आयोजकले बाडीचुडी रकम लिन्थ्यो ।
केही दिनअघि पनि हाउजी खेलाउने व्यक्तिले गलत नम्बर उद्घोष गरेपछि मेलामा बबाल भएको थियो । तर, आयोजक समितिले घटनालाई साम्य बनाउन टिकट किनेकाहरूलाई रातारात पैसा फिर्ता ग¥यो ।
यता भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीले आयोजक समितिले हाउजी खेलमा कुनै धाँधली नगरेको बताए । केही युवाहरूलाई चित्त नबुझेकोले स्टेजमा चढेर बबाल गर्दा त्यस्तो परिस्थित उत्पन्न भएको उनको भनाई छ । ‘आयोजक समितिले कसैलाई पनि कुटपिट नगरेको र भीडमा कसले कसलाई कुटेको त्यो आफू थाहा छैन,’ उनले भने ।
त्यस्तै मेला सञ्चालक प्रदीप राणाले हाउजीको टिकट सबै बिक्री नभएपछि आयोजक समितिबाटै केही व्यक्तिहरूले खेलको हो । त्यसमा आयोजक समितिको कुनै गल्ती छैन । ‘आयोजककै टिकटमा स्कुटर परेपछि घटनाले उग्ररुप लिएको मात्रै हो,’ उनले भने ।
प्रशासन कार्यालयले बेलुका ८ बजेसम्म मेला सञ्चालनको स्वीकृत दिएको थियो । तर, आयोजक समितिले प्रहरीकै संरक्षणमा राती १२ बजेसम्म मेला सञ्चालन गर्दै आएको थियो । मेलामा पैसाको हारजित अर्थात् जुवाजन्य कुनै पनि खेल खेलाउन नपाउने प्रशासनको पत्रमा उल्लेख हुँदा समेत मेला दिनहुँ जुवाजन्य खेलहरू खुलेआम खेलाउँदै आएका थिए । त्यो पनि नेताको पावरमा ।
मेलाको अनुमति रद्द
सोमबार राती मेलामा कुटाकुट भएको घटना बाहिर आए लगतै जिल्ला प्रशासन कार्यालयले मेलालाई दिएको अनुमति रद्द गरिदिएको छ । प्रशासनले १५/१५ दिन गरी दुई पटकमा भदौ १६ गतेसम्म एक महिना मेला सञ्चालनको अनुमति दिएको थियो । प्रशासनको पत्रमा भनिएको, ‘मेला सञ्चालनको क्रममा विवाद भई शान्ति सुरक्षामा असर परेको बुझिएकोले मंगलबार (आजै)का मितिबाट उक्त मेला सञ्चालन अनुमति रद्द गरिएको छ ।’ प्रशासनले सो पत्र जिल्ला प्रहरी कार्यालय झापालाई पठाएको र प्रहरी कार्यालय झापाले वडा प्रहरी कार्यालय भद्रपुरलाई पठाएको छ । वडा प्रहरीले मेला अनुमित रद्दको पत्र आयोजक समिति भद्रपुर युवा परिवारलाई जिम्मा लगाइसकेको वडाका प्रहरी निरीक्षक सन्तोषकुमार बुढाथोकीले जानकारी दिए ।
