निजामती दिवस: झापामा वक्तृत्वकला तथा ब्याडमिन्टन प्रतियोगिता
व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन नारासहितको निजामती कर्मचारी दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सरकारी कर्मचारीहरूको अन्तर्निहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखेर बुधवार भद्रपुरमा आयोजना गरेको “सङ्घीय शासन व्यवस्थामा सार्वजनिक सेवा प्रवाह” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा कनकाई नगरपालिकाका कर्मचारी इन्द्र बजगाईँ प्रथम भएका छन् ।
उनलाई नगद रु १० हजार पुरस्कार स्वरूप प्रमुख अतिथि समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले प्रदान गरेका छन् । यसैगरी प्रतियोगितामा द्वितीय हुने मेची भन्सार कार्यालय काँकडभिट्टाका कर्मचारी टीका बहादुर थापाले नगद सात हजार प्राप्त गरेका छन् ।
केन्द्रले दिवसकै अवसर पारेर यही भदौ १९, २० २१ गते आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई आजै पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने राष्ट्रिय वाणिज्य बैङ्क बिर्तामोडका प्रज्वल ओझा, खगेन्द्र कन्दङवा, द्वितीय हुने नेपाल विद्युत् प्राधिकरण दमकका धिरेन्द्र बजगाईँ, टंकप्रसाद उप्रेती, तृतीय हुने अर्जुनधारा नगरपालिकाका विपिन लम्साल, हेमराज सेडाईं र झापा जिल्ला अदालतका जिल्लान्याधिश चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद प्रसाईँ रहेका छन् । उनीहरूलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद राशि पुरस्कार प्रदान गरिएको कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष रुद्र न्यौपानेले बताए ।
कार्यक्रममा जिसस प्रमुख बरालले निजामती कर्मचारीले सेवा प्रवाहलाई अब्बल बनाउन र कर्मचारीतन्त्रभित्र रहेको विकृति, विसंगति र कुसंस्कारको अन्त्य गर्न आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निजामती ऐन जारी नहुँदा कर्मचारीको वृत्ति विकास र प्रशासनिक सेवामा समस्या भइहरेको बताए । उनले कर्मचारीलाई सुशासनको अनुभूति दिलाउने गरी सेवा प्रवाह गर्न समेत आग्रह गरे । आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईँ,केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरेलगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।