अभिनेत्री नोरासँग दिल्ली प्रहरीको सोधपुछ
नयाँ दिल्ली । अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग सम्पत्ति शुद्धीकरण मुद्दामा बुधवार सोधपुछ गरेको दिल्ली प्रहरीले शुक्रबार अर्की अभिनेत्री नोरा फतेहीसँग सोधपुछ गरेको छ । अभिनेत्री फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (इओडब्ल्यु) ले सोधपुछ गरेको हो । फतेही शुक्रबार बिहान करिब ११ बजे इओडब्ल्युको कार्यालय पुगेकी थिइन् ।
सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको रहेको छ ।
सन् १९९२ फेब्रुअरी ६ मा क्यानडाको टोरन्टोमा जन्मिनुभएकी नोराले बलिउडमा ‘रोअर टाइगर्स अफ सुन्दरवन’ चलचित्रबाट प्रवेश गरेकी थिइन् । नोराले स्ट्रिट डान्सर थ्रिडी, बट्ला हाउस, बाहुबलीः द बिगिनिङ, किक टु, भुजः द प्राइड अफ इन्डियालगायतका हिन्दी चलचित्रमा अभिनय गरेकी छिन् । नोराले तेलुगु चलचित्रहरूमा पनि अभिनय गरिन् । नोरा भारतीय चर्चित टेलिभिजन सो बिगबोस ९ मा प्रतियोगीका रूपमा सहभागी भएकी थिइन् ।