२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुर माविमा स्व. ओमप्रकाश गोयलको स्मृतिमा ८ लाखको अक्षयकोष स्थापना

sajilo news
झापा
२०७९ आश्विन ७ गते , शुक्रबार
भद्रपुर माविमा स्व. ओमप्रकाश गोयलको स्मृतिमा ८ लाखको अक्षयकोष स्थापना

भद्रपुर । स्व. ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइ–बुहारी दिनबन्धु तथा उषादेवी गोयलले भद्रपुर माध्यमिक विद्यालयलाई छात्रवृत्ति तथा डिजिटल शैक्षिक सामग्री प्रदान गरेका छन् । भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल राजवंशीको अध्यक्षतामा विद्यालय परिसरमा शुक्रबार आयोजित एक कार्यक्रममा गोयल दम्पतीले स्व.ओम गोयल स्मृति अक्षय कोषको स्थापना गर्दै रु ८ लाखको चेक दाता परिवारले विद्यालयलाई हस्तान्तरण समेत गरेका छन् । 

सो कोषको रकमबाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विपन्न छात्रछात्रालाई निःशुल्क पढ्ने अवसर मिल्ने जनाइएको छ ।  सोही अवसरमा विद्यालयका लागि दाता गोयल दम्पतीले २ लाख ५० हजार रुपैयाँ बढीको डिजिटल शैक्षिक सामग्री पनि विद्यालयलाई हस्तान्तरण गरेका थिए । साबिक भद्रपुरका सबै सामुदायिक विद्यालयमा स्व. ओम गोयलको स्मृतिमा छात्रवृत्ति उपलब्ध गराउने क्रममा भद्रपुर माविमा यस वर्षबाट अक्षय कोष स्थापना गरिएको दाता दिनबन्धु गोयलले बताए । 

दाता गोयल ७५ वर्ष पुगेको हुनाले यो वर्ष भरिनै उनले ‘अमृत वर्ष गाँठ’ मनाउँदै छन् । दाता परिवार दिनबन्धु गोयल र उनकी धर्मपत्नी उषादेवी गोयलको ५०औं विवाहोत्सव पनि यसै वर्ष परेको छ । सोही अवसरलाई उपयोग गर्दै विद्यालयले केक काटेर दाता गोयलको जन्म दिन मनाउँदै जन्म दिन र वैवाहिक वर्ष गाँठको लागि शुभकामना व्यक्त गरेका छन् । 

विद्यालयलाई छात्रवृत्ति र शैक्षिक सामग्री हस्तान्तरणको सोही अवसरमा भद्रपुर हाई स्कुलबाट एसएलसीमा सहभागी पहिलो विद्यार्थी महावीरप्रसाद गोयल र दाता दिनबन्धु गोयललाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो । उनीहरूलाई खादा, माला, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरू नातामा दाजुभाइ हुन। कार्यक्रममा नगर उपप्रमुख कार्की, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागाईँ लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर गुरुङले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक चैतन्य खरेलले गरेका थिए । 

सम्बन्धित समाचार